arrow

वास्तविक सुकुमवासी नछुट्याई डोजर आतङ्क मच्चाइयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
arjunnarsing-kc-03-03.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुमवासीको पहिचान नगरी सरकारले जथाभावी डोजर चलाएको भन्दै प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्।

उनले सरकारी कदमले सुकुमवासी समुदायमा त्रास फैलिएको र उनीहरूको संवैधानिक अधिकारमाथि आघात पुगेको बताए।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाही गर्ने सरकारको सुरुआती प्रयास सकारात्मक देखिए पनि अहिले त्यो दुस्साहसमा परिणत भएको टिप्पणी गरे।

उनका अनुसार वास्तविक सुकुमवासीको पहिचान नगरी बस्ती हटाउने अभियान चलाउँदा धेरै परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

उनले डोजर अभियानका कारण बालबालिका विद्यालय जानबाट वञ्चित भएको र धेरै परिवार दैनिक जीविकोपार्जनसमेत गर्न नसक्ने अवस्थामा पुगेको बताए।

सुकुमवासी विस्थापनसँग जोडिएका दुःखद घटनाहरू उल्लेख गर्दै उनले इन्द्रबहादुर राईले बागमती नदीमा हाम फालेको, १७ वर्षीय रविन तामाङले आत्महत्या गरेको, शान्तिनगरमा रवि तामाङकी श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको तथा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भोजराज दर्जीको ज्यान गएको घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए।

सांसद केसीले यस्ता घटनाले सुकुमवासी समुदायमा थप भय र असुरक्षा पैदा गरेको उल्लेख गर्दै विस्थापनका क्रममा मानवीय संवेदनशीलतालाई प्राथमिकता दिन सरकारसँग माग गरे।

उनले एम्नेस्टी इन्टरनेसनलसहित विभिन्न मानवअधिकारवादी संस्थाहरूले पनि सुकुम्वासी व्यवस्थापनको विषयमा गम्भीर चासो व्यक्त गरिरहेको स्मरण गराउँदै वास्तविक सुकुमवासीको पहिचान, उचित व्यवस्थापन र मानवीय दृष्टिकोण अपनाएर मात्रै समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ