- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डडेलधुरा । कोरोना महामारीका बेला नेपाली कांग्रेस डडेलधुराले गठन गरेको सेवा दलले नेपाली कांग्रेस डडेलधुराको कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ ।
सोमबार सेवा दलले १३ बेडको आइसोलेसन बनाएको हो । पाँच दिनभित्रै थप १७ बेडगरी ३५ बेडको अक्सिजन सेवासहितको सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने नेपाली कांग्रेस डडेलधुराले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ‘किसुनजी विश्राम स्थल’ नाम दिएर आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।
कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेलधुरा अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइएको नेपाली कांग्रेस डडेलधुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले जानकारी दिए ।
आइसोलेसनमा अक्सिजनको समेत व्यवस्थापनमा लागिरहेको सांसद मल्लले बताए । उनका अनुसार हाल पाँच अक्सिजन बेड र आठ नर्मल बेडको आइसोलेसन बनाइएको छ । कोरोना सङ्क्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार नागरिकलाई एनडीप्रकाश भोजन चुल्होमार्फत निःशुल्क खाना खुवाएको थियो ।
त्यस्तै, जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता सामग्रीसमेत सेवा दलले वितरण गरिरहेको छ । कोरोना महामारीको पहिलो चरणदेखि नै सांसद मल्लसहित नेपाली कांग्रेस डडेलधुराका जिल्ला स्तरीय नेताहरू कोरोना सङ्क्रमित र महामारी प्रभावित जिल्लावासीहरूको सेवामा सक्रिय छन् ।
सांसद मल्लले कोरोना सङ्क्रमित बिरामीहरूलाई भेटेर जुडिबुटियुक्त औषधी वितरण गर्नुका साथै उच्च मनोबल राख्न सुझाई रहेका छन् ।