arrow

पहिले जनताको ज्यान जोगाऔँ, राजनीति गर्दै गरौला : पूर्व मन्त्री गिरी

logo
सौरभ गिरी,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
deepak-giri-ministor.jpeg

नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कोभिडको उपचारमा गम्भीर र संवेदनशील बन्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधवार एक अपिल जारी गर्दै गिरीले कोरोनाबाट अति प्रभावित दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, पर्सा, कैलाली, काठमाडौँ लगायतका जिल्लाहरूमा अक्सिजनको चरम अभावलाई दृष्टिगत गरी यथाशक्य आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइसियु सहितका बेड क्षमतामा वृद्धि गर्न तथा आवश्यक मात्रामा आइसोलेसनको व्यवस्था गर्न पूर्व मन्त्री गिरीले जोडदार अपिल गरेका छन् । उनले चिकित्सकका अनुसार कोभिडको दोस्रो लहर बालबालिकाका लागि अझ घातक रहेकाले देशभर बालबालिकाका लागि उपयुक्त सुविधायुक्त बेडहरूको व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

मुलुक कोरोना महामारीको ठुलो चपेटामा परेका बेलामा पनि सरकार सत्तामा रजाइँ गर्ने दाउपेचको फोहोरी खेलमा चुर्लुम्म डुबेको भन्दै उनले भर्त्सना गरेका छन् । 

"अस्पतालहरूमा बेड तथा अक्सिजनको अभावका कारण नागरिकहरू अकालमा मृत्युवरण गर्न बाध्य खेप्नुपरिरहेको कारुणिक अवस्था छ । न्यूनतम सुविधाको अभावमा आम जनता अस्पतालको सिडी, बरन्डामा छ्ट्पटाइरहेका छन् ।  यस्तो विकराल अवस्थामा सरकार भने जनताको जिउधनको सुरक्षा केन्द्रित नभई सत्तामा रजाइँ गर्ने दाउपेचको फोहोरी खेलमा चुर्लुम्म डुबेको छ," गिरीले उल्लेख गरेका छन् । 

"राजनीति त गर्दै गरौँला तर कोभिड १९ को विकराल अवस्थामा पहिला त आम नागरिकको स्वास्थ्यका बारेमा गम्भीर हुन आवश्यक छ," केन्द्रीय सदस्य गिरीले अपिलमा लेख्नुभएको छ-"कोभिड १९ विरुद्धको लडाइँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौँ ।" पार्टीको एक जिम्मेवार सिपाहीको हैसियतले यो विकराल अवस्थामा कोभिड १९ वा अन्य रोगका बिरामीहरूलाई अस्पतालमा भर्ना गर्ने लगायत अन्य सेवामा आफू क्रियाशील रहेको गिरीले बताएका छन् । 

"म प्रतिको जनअपेक्षालाई पूरा गर्ने गरी यो महामारीमा कटिबद्ध भएर अघि बढ्ने विश्वास दिलाउन चाहन्छु," गिरीको अपिलमा छ । 

कोरोनाबाट अति प्रभावित दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, पर्सा, कैलाली, काठमाडौँ लगायतका जिल्लाहरूमा देखिएको अक्सिजनको चरम अभावको अवस्थालाई समाधान गर्ने सवालमा विभिन्न निकायहरूसँग छलफल तथा अनुरोध जारी राखेको बताएका छन् ।

 सरकारको चरम उपेक्षाको बाबजुद जनताको स्वास्थ्य उपचार र सुरक्षामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति गिरीले उच्च सम्मान व्यक्त गरेका छन् । कोभिडका कारण मृत्युवरण गरेकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गिरीले सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना विरुद्धको लडाइँमा सहयोग गर्न आम नागरिकलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ