arrow

कांग्रेस नेता कमल शाहले अस्थायी कोभिड अस्पतालका लागि आफ्नो निवास दिने

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
kamal-bd-saha.jpg

 कैलाली ।  नेपाली कांग्रेस नेता, महासमिति सदस्य कमल बहादुर शाहले अस्थायी कोभिड अस्पताल ( आइसोलेसन) सञ्चालनका लागि  आफ्नो निवास दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लम्की स्थित टीकापुरमा रहेको आफ्नो निवास रामारोशन खाद्य भवन स्थायी कोभिड अस्पताल (आइसोलेसन) सञ्चालनका लागि  सम्बन्धित पक्षले चाहेको खण्डमा दिने घोषणा गरेका हुन् । 

नेता शाहको कैलाली क्षेत्र नम्बर २ स्थित लम्की चुहा नगरपालिका वडा नं. १ लम्की, टीकापुर रोडमा रहेको रामारोशन खाद्य भवनका कोठाहरूलाई करिब ५० बेडको आइसोलेसन बनाउन दिने आज सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका छन् । लम्की चुहा नगरपालिकाले लम्की चुहा नगरपालिका वडा नम्बर २ गणेशपुर स्थित राधा स्वामी सतसंगत भवनमा अक्सिजन सहितको ५० बेडको अस्थायी कोभिड अस्पताल (आइसोलेसन) सञ्चालन गदै आएको छ । 

तर पछिल्लो समयमा मौसममा भइरहेको बदलिका कारण हावाहुरी र बर्सातको कारण उपचारमा रहेका सङ्क्रमितहरूलाई अप्ठ्यारो भइरहेको भन्दै विकल्पको रूपमा अन्य ठाउँमा सार्नु पर्ने आवश्यकता महसुस भएको भन्दै कुन ठाउँमा गर्दा राम्रो होला ? कृपया आफ्नो विचार व्यक्त गरी दिनुहोला भनेर कोभिड अस्थायी अस्पताल लम्कीचुहाका संयोजक तप्त भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो विचार राखेका थिए ।  

सुरक्षित आइसोलेसनको अभाव भएको महसुस गदै नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य कमल बहादुर शाहले आफ्नो लम्की स्थित टीकापुर रोडमा रहेको रामारोशन खाद्य भवनलाई तत्काल करिब ५० बेडको आइसोलेसन बनाउन उपलब्ध गराउने सामाजिक सञ्जाल मार्फत सम्बन्धित पक्षलाई जानकारी गराएका हुन् । नेता कमल शाह सोही खाद्य भवनमा बस्दै आउनु भएको छ । उनले आफू बस्ने भवन सहित सबै खाद्य भवन परिसर यस महामारीको समयमा कोरोना सङ्क्रमितको लागि आइसोलेसन प्रयोजनको लागि दिने घोषणा गरेका हुन् ।

को हुन नेता काँग्रेस नेता शाह
विद्यार्थी जीवनकालमा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको राजनीतिक क्षेत्रमा होमिएका शाह सामाजिक क्षेत्रका साथै राजनीतिक क्षेत्रमा पनि एकदमै सक्रिय व्यक्ति हुन । उन नेपाली काँग्रेसको नवौँ, दसौँ, एघारौँ, बाह्रौँ र तेह्रौँ महाधिवेशनमा २०५३ साल देखि महासमिति सदस्य रहेका छन् । दोस्रो संविधान सभा २०७० को निर्वाचनमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहनु भएका नेता शाह विभिन्न सामाजिक कार्यका साथै आफ्नो क्षेत्रमा विपतको समयमा हरेक प्रकारले सहयोग गदै आउनु भएका सहयोगी नेताको रूपमा समेत चिनिन्छन् । 

नेता शाहले गत वर्षको बर्सातको समयमा बाढी तथा डुबानका कारण प्रभावित भएका यस क्षेत्रका नागरिकलाई खाद्यान्न सहयोग, कोरोनाको पहिलो लहरको क्रममा गत वर्ष कैलाली क्षेत्र नम्बर २ अन्त्रगतका लम्की चुहा, बर्दगोरीया, जानकी, महोन्याल पालिकाका सबै स्वास्थ्य शाखा, अस्पताल, स्वास्थ्य संस्थाहरूमा सुरक्षा तथा स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका तथा एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामग्री, पिपिई सेट, मास्क, सेनीटाईजर सहयोग प्रदान गरेका थिए भने, क्षेत्र नम्बर २ अन्त्रगतका महिलास्वास्थ स्वयम सेविका र एम्बुलेन्स चालकहरूको कोरोना बिमा पनि गरी दिएका थिए । 

यस वर्ष महामारीको रूपमा कोरोनाको दोस्रो लहरमा पनि  कोरोना सङ्क्रमित तथा प्रभावितहरूका लागि सञ्चालन गरिएको अभियान “कोरोना सङ्क्रमितहरूका लागि सहयोगी हातहरू” मा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो बस्ने लम्की स्थित रामारोशन खाद्य भवनलाई आइसोलेसन बनाउन सहयोग दिने सामाजिक सञ्जाल मार्फत घोषणा गरी सकेका छन् । यस महामारीको समयमा आफू यस क्षेत्रका जनताका साथमा सुख दुःख साटन साथमा रहेको बताउँदै उनले सबैलाई महामारी बाट जोगिन घरभित्रै सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

नेता शाह आफ्नो फेसबुकमा लेख्छन्  
कैलाली क्षेत्र नम्बर २ मा कोभिड १९ ले मृत्यु भएका दाजुभाइ दिदीबहिनीहरूमा हाद्धिक श्रद्धाञ्जली सहित शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै लम्की चुहा नगरपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा हावाहुरी र बर्सातका कारणले आइसोलेसन कक्ष व्यवस्थापन गर्न कठिन भएको कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी ज्यूको गुनासोलाई मध्यनजर गदै तत्कालका लागि लम्की चुहा १ टीकापुर रोडमा रहेको रामारोशन खाद्य भवनका कोठाहरूलाई करिब ५० बेडको आइसोलेसन कक्ष बनाउनका लागि उक्त स्थान सम्बन्धित पक्षलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने जानकारी गराउँदछु । अन्तमा कोभिड १९ ले सङ्क्रमित हुनु भएका सम्पूर्ण मेरा दाजुभाइ तथा दिदी बहिनीहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 
                      जय नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ