arrow

जाजरकोटमा निषेधाज्ञा थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
lockdown-rupandehi.gif
फाइल तस्बिर

जाजरकोट। कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। कोरोना फैलने दर बढेकाले दुई हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए। जाजरकोटमा कोरोनाले दुई जनाको मृत्यु भइसकेको छ।

जिल्ला अस्पतालमा १०३ आइसोलेसन शय्या, आइसियु कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिन्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३ र साधारण आइसोलेसन ३३ छ। थप अक्सिजन सिलिन्डर खरिद गर्न बुधवार बोलपत्र आह्वान गरिएको छ।

त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए। प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ।

प्रत्येक पालिकाले अक्सिजन सिलिन्डर खरिद गरिरहेका  छन्। भेरी नगरपालिकाले  सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स असारसम्मलाई भाडामा लिएको छ।

स्वाब सङ्कलन, कनट्याक्ट ट्रेसिङ, कोरोना अनुगमनको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए। नगरपालिकाले  एम्बुलेन्स र शव वाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। 

दुई दिनको तल भत्ता कोभिडमा
यसैबीच भेरी नगरपालिकाले जनप्रतिनिधि, शिक्षक र मातहतका सबै कर्मचारीको दुई दिनको तलब सुविधा कटाएर विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ। त्यसरी कटाइएको तलब रकम सात लाख भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले महामारीमा खटिने स्वास्थ्यकर्मीको भने तलब सुविधा कटाएको छैन। बढ्दो जोखिम नियन्त्रण गर्न सङ्क्रमितका लागि अक्सिजन सिलिन्डर सहितको १४ शय्याको आइसोलेसन कक्ष, नौ वटा सिलिन्डरको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

गत वैशाख १३ यता नगरपालिकाले आठ सय ३८ जनाको परीक्षण गरेकोमा दुई सय ६१ जना पोजेटिभ भएकोमा ५६ जनाले कोरोना जितेर गएको जनस्वास्थ्य निरीक्षक निशा थापाले बताए।

महामारी र सङ्क्रमितको अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा सुरक्षाका सामग्री स्यानिटाइजर, मास्क, व्यक्तिगत सुरक्षा सामग्री लगायतका सामग्री नगरपालिका मातहतका पाँच स्वास्थ्य चौकी र सात आधारभूत वडा स्वास्थ्य सेवा केन्द्रमा वितरण गरिएको नगर स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए। परीक्षण गर्ने किटको अभावमा दायरा बढाउन समस्या भए पनि पहल भइरहेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ