- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापतिको निधन भएको छ । केही दिनदेखि ज्वरो आएर थलिएका बरहथवा नगरपालिका–१, निवासी नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापति ५८ वर्षीय टीकाजंग रायमाझीको उपचारका क्रममा शनिबार भरतपुरमा निधन भएको हो ।
रायमाझीलाई पनि ज्वरो र निमोनिया देखिएको थियो । उनलाई आइसीयूको खोजीमा हरिवन, बर्दिवास हुँदै भरतपुर पुर्याइए पनि उपचार गर्दागर्दै ज्यान गएको हो । बरहथवा नगरपालिका–१, का वडाध्यक्ष रत्नबहादुर गिरीले कोरोना परीक्षण नभइरहेको तर ज्वरो आएकाहरुको मृत्यु हुने क्रम बढेको बताए ।
आफ्नो वडामा पनि अहिले धेरै मानिस ज्वरोले थलिएका र तीन–चार जनाको ज्यान गइसकेको वडाध्यक्ष गिरीले जानकारी दिए । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा केही हप्ताको अन्तरालमा उच्च ज्वरो आएका चार–पाँच जनाको मृत्यु भइसकेको मेयर अभयकुमार सिंहले बताए ।
जिल्लामा अहिले ज्वरो, निमोनिया, टाइफाइड, रुघाखोकीजस्ता स्वास्थ्य समस्या भएका बिरामीका कारण अस्पतालहरु भरिभराउ भएका छन् ।
सरकारी स्वास्थ्य चौकी र अस्पतालमा राम्रो उपचार नहुने भन्दै बिरामीहरु उपचारका लागि निजी अस्पताल र क्लिनिकमा धाइरहेका छन् ।
जसले गर्दा निजी स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढिरहेको छ । मृत्युदर र बिरामीको संख्या बढेपनि समुदाय स्तरमा कोरोना परीक्षण गराउन भने बेवास्ता गरिएको छ ।
अहिले जिल्ला अस्पताल मलंगवामै कोरोना परीक्षण हुने गरेको भएपनि लक्षण देखिएका सीमित व्यक्तिहरुले मात्रै अस्पतालमा पुगेर पीसीआर परीक्षण गराइरहेका छन् ।