arrow

राष्ट्रिय सभाः मतदान जारी

हेटौंडाको झरीमा बादल छाता ओढेर मतदान स्थलमा 

logo
रवीन्द्र गौतम, 
प्रकाशित २०७८ जेठ ६ बिहिबार
ram-bd-thapa-badal-rastrtiy.jpg

हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान अहिले भइरहेको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । 

हेटौंडामा वर्षा भइरहेको छ । यो झरीमा पनि सत्तारुढ एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादल छाता ओढेर मतदान स्थलमा पुगेका छन् ।

बादलसहित एमालेकै माधवकुमार नेपाल समूहका नेता डा. खिमलाल देवकोटा र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ मैदानमा रहेका छन् । 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुरुआतमै मतदान गरेका छन् । पौडेल उम्मेदवारी दिँदा बादलको प्रस्तावक बसेका थिए । 

निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि बिहीबारै आउने आयोग स्रोतले जनाएको छ । तत्कालीन नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । वर्तमान संविधान कार्यान्वयनमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन भएको हो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । 

मतदातामध्ये प्रदेशसभा सदस्य (एमाले सांसदं पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ । 

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान भइरहेको छ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । 

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो  । 

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ  । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । बेलुकासम्ममा नतिजा आइसक्ने पनि निर्वाचन आयोग स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ