arrow

बिहान ९ देखि ३ बजेसम्म मतदान

नैतिक परीक्षामा माधव नेपाल पक्ष

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ जेठ ६ बिहिबार
nepal-khanal-cpn.jpg

काठमाडौं । बिहीबार राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी स्कूलमा बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । एक पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताइसकेका छन् । 

आयोगले सम्पूर्ण स्वास्थ्य मापदण्डको पालन गरी निर्वाचन गराउने जनाएको छ । निर्वाचनका लागि मुख्य बुथ २ वटा र एउटा विशेष बुथ गरी ३ निर्वाचन केन्द्र बनाइएको छ । जसमा एउटा बुथ सांसदको लागि, एउटा मेयर–उपमेयर र गाउँपालिका प्रमुख, उप–प्रमुखको लागि र एउटा कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताका लागि छुट्टाइएको छ । मतदाताको लागि कोरोना रिपोर्ट भने अनिवार्य गरिएको छैन । 

उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् । निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् ।      

नैतिक परीक्षामा माधव नेपाल पक्ष
यतिबेला एमालेको माधवकुमार नेपाल पक्ष (खनाल नेपाल– माधवकुमार नेपाल र झलनाथ खनाल) नैतिक दबाबमा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरी आफूहरुमाथि निषेधको राजनीति गरेपछि नेपाल पक्ष वाध्य भएर विपक्षी गठबन्धनसँग सहकार्य गर्न पुगेको थियो ।

जसका कारण कांग्रेस र माओवादीले आफ्नो पार्टीका उम्मेदवार उठाएन । उसले नेपाल पक्षका खिमलाल देवकोटालाई आफ्नो उम्मेदवार बनायो । 

अर्थात् एमालेका दुई जना उम्मेदवार छन् मैदानमा ओलीका बादल र नेपालका देवकोटा । उम्मेदवारी दिइसकेपछि ओलीले माधव नेपालसँग फेरि सहकार्य गरेर जाने जाल बिछ्याए । ओली खेमाको मात्र बसेको स्थायी कमिटी बैठकले माधव नेपालसहित नेपाल खेमाका चार जनाको ६ महिने कारबाही हटायो । 

अनि ओली र नेपालबीच वार्ताको वातावरण बन्यो । पार्टी एकताका लागि कार्यदल गठन भयो । तर ओलीका दाहिने हात एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सम्मिलित कार्यदलले कामलाई भने तीव्रता दिएको छैन । 

माधव नेपाल चाहन्थे यो चुनावअघि नै कार्यदलले काम सम्पन्न गरी एमालेको एकता प्रक्रियालाई अगाडि बढाउने । तर ओली स्वयं चाहँदैनथे । जसका कारण निर्वाचनको समय घर्केको छ । 

एमालेभित्रकै स्रोतका अनुसार ओलीले यसरी नै एकता प्रक्रिया अल्झाएर आफूले संसदबाट विश्वासको मत लिएपछि पुनः नेपाल पक्षलाई कारबाही गर्ने रणनीति बनाएका छन् । त्यो कत्तिको सम्भव छ त्यो पछिको कुरा । 

महत्वपूर्ण विषय बिहीबारकै हो । यहाँ निर्वाचन आचारसंहित उल्लंघन गर्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले ह्वीप जारी गर्दै एमालेका सबैलाई बादललाई मत हाल्न निर्देशन दिएका छन् । मौन अवधिका बेलामा ओलीले ह्वीप जारी गरे । 

ओलीको यो हर्कतको माओवादी केन्द्र र नेपाली कांग्रेसले कारबाही गर्नसमेत माग गरेका छन् । तर निर्वाचन आयोगले भने आफ्नो नैतिकता ओलीको चरणमा बुझाएको आरोप विपक्षीहरुको छ । 

अर्कातिर माधव नेपाल पक्षले केही पनि बोलेको छैन । माओवादी र कांग्रेसले देवकोटालाई नै मत हाल्ने बताइसकेका छन् । तर माधव नेपाल पक्ष नबोली एकैपटक एक्सनमा आउने देखिएको छ । 

नेपाल पक्षले यसअघि पनि संसदमा ओलीले विश्वासको मत लिँदा ह्वीपको उल्लंघन गर्दै संसदमै उपस्थित नभई ओलीलाई झापट हानिसकेको छ । 

तर विपक्षी गठबन्धनले सरकार बनाउनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयसीमामा भने माधव नेपाल पक्षले खुट्टा कमाउँदा कांग्रेस–माओवादीले बहुमत पेश गर्दै सरकार गठनका लागि दावेदारी दिन नै सकेनन् । 

यसपालिको परिस्थिति केही फरक छ । नेपाल पक्ष नैतिक संकटमा छ । र यही नै उसको परीक्षा हो । 

नेपाल पक्षको काँध थापेका कांग्रेस र माओवादीको अडान कायमै रहँदा नेपाल पक्षका सांसदसहितका जनप्रतिनिधिहरुले खुट्टा कमाउँछन् कि नैतिकता देखाउँछन् भन्ने प्रश्न खडा भएको छ । 

यसको छिनोफानो अबका केही घण्टाले गर्नेछ । यही नेपाल पक्षको नै अग्निपरीक्षा हुनेछ । यसले नै कांग्रेस र माओवादीसँग अबको नेपालको राजनीतिक सहयात्राको खाकासमेत कोर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ