arrow

स्याङ्जा काँग्रेसले दुई दिनमा गुमायो दुई नेता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
gajendra and sthaneswor.jpg

स्याङ्जा । स्याङ्जा काँग्रेस यती बेला शोकमा छ । दुई दिनको फरकमा काँग्रेसका दुई जना कर्मठ र निष्ठावान् नेता गुमाएको छ । दुई दिनको फरकमा नेपाली काँग्रेस महासमिति सदस्य, शिक्षा सेवी एवं निर्माण व्यवसायी गजिन्द्रप्रकाश मल्ल र लोकतान्त्रिक आन्दोलनका अगुवा योद्धा स्थानेश्वर पौडेललाई स्याङ्जा काँग्रेसले गुमाएको हो । 

 दुवै जनाको निधनप्रति नेपाली काँग्रेस स्याङ्जाले शोक विज्ञप्ति प्रकाशित गरेको छ । काँग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्वारा हस्ताक्षरित विज्ञप्तिमा चाप कोट नगरपालिका ५ सेखाम जन्मथलो भई हाल पुतली बजार नगरपालिका १ का मल्ल र आधीखोला गाउँपालिका ३ बिचार चौताराका पौडेलको निधनप्रति दुख व्यक्त गर्दै शोक विज्ञप्ति प्रकाशित गरेको हो ।

प्रकाशित विज्ञप्तिमा स्याङ्जा स्थित नेपाली काँग्रेसको पाटी कार्यालय ३ दिन बन्द गर्ने, पाटीको झन्डा १३ दिनसम्म आधा झुकाउने र कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । दुवै नेताले देखाएको अमूल्य बाटो स्याङ्जा काँग्रेसका लागि अनुकरणीय रहेको र सधैँभरि सम्झन उल्लेख छ । दुवै नेता गुम्नुले स्याङ्जा काँग्रेसलाई अपूरणीय क्षेती पुगेको शोक विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
स्वर्गीय पौडेलले २०१७ सालको राजनीतिक कु पछि नेपाली काँग्रेसमा आबद्ध भई राजनीति यात्रा सुरु गरेका थिए । गण्डकी छात्र सङ्घको अध्यक्ष, स्याङ्जा पर्वत तरुण क्लबको संस्थापक अध्यक्ष हुँदै नेपाली काँग्रेस स्याङ्जाको जिल्ला कार्यसमितिको सचिव भएर काम गरिसकेका पौडेल काँग्रेसका पुराना अभिभावक नेताका रूपमा परिचित थिए । बिस २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालीन बिचारी चौतारा गाउँ विकास समितिको पहिलो निर्वाचित अध्यक्ष भएको पौडेलका २ श्रीमती ३ छोरा र २ छोरी रहेका छन् । 

यसै गरी, मल्लले पनि २०१७ सालको राजनीतिक कु पछि काँग्रेसका विभिन्न आन्दोलनका मोर्चामा सहभागी भएका नेता हुन् । पञ्चायती शासन विरुद्धको सशक्त आवाज उठाउँदै प्रतिबन्धित समयमा नेपाली काँग्रेसको कोषाध्यक्ष , जिल्ला विकास समितिको २ पटकसम्म सदस्य समेत भएका मल्ल पश्चिम क्षेत्रका एक निडर र असल कार्यकर्ताका रूपमा रहेका थिए । निर्माण व्यवसायी सङ्घका  संस्थापक अध्यक्ष र हाल सङ्घका केन्द्रीय सदस्य रहेका मल्लका श्रीमती, ३ छोरा र १ छोरी छन् । 

नेपाली काँग्रेस स्याङ्जाको राजनीतिमा अब्बल प्रभाव पार्न सफल मल्लका माइला छोरा भागवतप्रकाश मल्लले बाबाको मार्ग अनुसरण गर्दे आएका छन् । गण्डकी प्रदेश सांसद र नेपाल तरुण स्याङ्जाका अध्यक्ष समेत रहेका छन् । 

२०७४ सालको निर्वाचनमा स्याङ्जाको प्रदेशसभा २ वाट निर्वाचित भएका भागवत प्रकाशले स्याङ्जा काँग्रेसको साख बचाएका थिए ।  दुवै नेताको निधनमा उनीहरू सँगै काम गरेका नेताहरूले समेत दुःख व्यक्त गरेका छन् । 



नयाँ