arrow

कांग्रेसबाट निर्वाचित मेयर राई भन्छन्- कहिलेकाहीँ त पानी पिउने फुर्सद पनि हुँदैन

logo
तेजन खड्का,
प्रकाशित २०७८ जेठ १२ बुधबार
rabin-rai.jpg

मोरङ । ‘एउटाले फोन गरेर कोरोना सङ्क्रमित मान्छे भारतबाट आउँदै छन् रे भन्छ। अर्कोले फोन गरेर हामी गाउँ आउन पाएनौँ भन्छ। रातभरि फोन आएर झिपिक्क गर्न पाइँदैन।’ उक्त भोगाइ रतुवामाई नगरपालिकाका मेयर रविन राईको हो। उनले आफ्नो दुःखपूर्ण दैनिकी सुनाए। देशमा कोरोना भाइरस सङ्क्रमण दोस्रो लहर फैलिएपछि स्थानीय तहका जनप्रतिनिधिको व्यस्तता ह्वात्तै बढेको छ। नगरप्रमुख राईले भने, ‘कहिलेकाहीँ त पानी पिउने फुर्सद पनि हुँदैन।’

रतुवामाई भारतसँग सीमा जोडिएको नगरपालिका हो। भारतबाट नेपाल आउनेहरू रतुवामाई नगरपालिकामा भित्रने गर्छन्। भारतबाट आउनेहरूको व्यवस्थापन गर्न निक्कै कठिन हुने गरेको नगरप्रमुख राईले सुनाए। 

एकातिर आफ्नै नगरपालिकामा क्वारेनटाइन छ। अर्कोतिर नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको काम छ। त्यसमाथि जिल्लाका अन्य स्थानीय तह र बाहिरी जिल्लाका मानिसलाई गन्तव्यमा पठाउने काम पनि छ। 

यी सबै कामले नगरप्रमुख राईको व्यस्तताको पारो चढेको छ। ‘बढी दौडधुपले ज्वरो नै बढेछ, फोन आएको आएकै गर्छ', उनले भने, 'जिम्मेवारी लिएको मान्छेले जनताको सेवाबाट पछि हट्ने हुने कुरो हुँदैन।' कामको चाप निक्कै बढी छ।

कुनै पनि बेला व्यापक सङ्क्रमण देखिन सक्ने भएकाले नगरपालिका जनप्रतिनिधिहरू न्यूनीकरणमा जुटेका छन्। ‘विदेशबाट र अन्यत्रबाट आएका मानिस सम्पर्कमा आए काम गर्न सहज हुन्छ', राईले भने, 'भागे भने त ठुलो विपत्ति निम्तिन्छ। कोरोनाबाट बाँच्नु हामी सबैको भलाइ हो।'

कोरोना महामारी महासङ्कट भएकाले कुनै एक जनाको प्रयासले मात्र जुध्न नसक्ने मेयर राईको भनाइ छ। 'म जनप्रतिनिधि हुँ, मेरो दायित्व केही बढी छ तर यसमा हरेक संस्था, समूह र व्यक्तिकै योगदान आवश्यक छ’, राईले भने। 

व्यवस्थापनको काममा रातदिन खटिरहेका प्रमुख राईलाई कतिपय बेलामा जिम्मेवार व्यक्तिले नै असहयोग गरेकोमा चित्त दुखेको छ। मोरङमा लगाइएको निषेधाज्ञा पालना गर्न सबैलाई मेयर राईले अनुरोध गरे। 'यो तपाईँ-हाम्रो स्वास्थ्य सुरक्षाको लागि हो, नियम पालना गरेनौँ भने सङ्कट कसरी पार लगाउन सकिन्छ ?’ उनको प्रश्न छ। 

‘रोग लाग्नुभन्दा रोग नै लाग्नु नदिनु उचित हो’ भन्दै मेयर राईले भने, 'हाम्रो देशभन्दा ठुला विकसित र शक्तिशाली राष्ट्रहरू कोरोनाले आजित छन्। हामीले सावधानी अपनाएनौँ भने सखाप हुन केही बेर लाग्दैन।'

‘कोरोनाले ठुलो-सानो धनी-गरिब यो वा त्यो भनेर सर्ने कुरामा छूट दिँदैन', मेयर राईले भने, 'आफ्नो परिवारलाई लाग्दा मात्र सचेत हुने प्रवृत्तिले विकराल स्थिति ल्याउन सक्छ। त्यसतर्फ सबै सचेत हुनु आवश्यक छ।'

गत वर्षको लकडाउनमा मेयर राईको अग्रसरतामा नगरपालिकाले काठमाडौँमा अलपत्र परेका मोरङ रतुवामाईवासीलाई घर पुर्‍याएको थियो। रतुवामाई नगरपालिकाले आफैँ खर्च व्यहोर्ने गरी पाँच वटा बसको व्यवस्था गरेर र घर फर्काएको हो। 

‘काठमाडौँमा लकडाउनका कारण भोक भोकै मर्छौ जस्तो लागेको थियो’, त्यस बेलाको क्षण सम्झँदै काठमाडौँबाट घर फर्किएका सोम सानुले भने, ‘घर फर्काइदिएर मेयर सापले बचाइदिनुभयो, नत्र त्यस बेला के हुन्थ्यो, कल्पना गर्न सक्दिन। अहिले आफ्नै गाउँमा पत्रकारितासँगै खेती गरिरहेको छु। रोग भन्दा भोकको चिन्ता थियो।'

 त्यसो त रतुवामाई नगरपालिकामा विकासको अभियान नै थालेको छ। रविन राई मेयर भएपछि विकास निर्माणका कामले तीव्रता पाएको हो। युवा जोस, शालीन छवि र विकास प्रेमी उदाहरणीय युवा नेता राईको रतुवामाईप्रतिको स्नेह, त्याग अनि समर्पण अदम्य देखिन्छ।

मेयर राई रतुवामाई नमुना नगरका रूपमा विकास गर्न हरतरहका प्रयासमा जुटेका छन्। कोरोना भाइरसको नयाँ प्रजातिसहितको सङ्क्रमण बढ्दै गएपछि रतुवामाईमा कडाइ गरिएको छ। नगर स्तरीय 'कोभिड १९ सङ्कट व्यवस्थापन समिति' को बैठकले अत्यावश्यक बाहेकका बजार पसल बन्द गर्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ