- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गलकोट। जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन्। धेरै लक्षणविहीन भए पनि केही सङ्क्रमित लक्षणसहितका छन्। कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको समर्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रवार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ। उनीहरू अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो। बागलुङमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन्।
कोरोनाको गम्भीर लक्षण देखिदा समेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटिल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरूको बढी मृत्यु भएको देव घिमिरेले बताए। “अक्सिजन लेबलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासि बेहोस भई ढल्दा अथवा श्वासप्रश्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ”, घिमिरेले भने “अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भए पनि अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्यु हुने सम्भावना बढी देखियो।”
प्रत्येक सङ्क्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा संलग्न धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए। “केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसका कारण उसको निमोनिया समेत घटाउन कठिन हुन्छ”, पोखरेलले भने, “केहीले अझै कोरोना लुकाउनुभएको छ त्यस कारण भित्रभित्र उहाँको अवस्था गम्भीर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही सुरुमै अस्पताल आए पनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण मृत्यु भएको पाइएको छ। ”
पोखरेलका अनुसार सङ्क्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको समर्पकमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वासप्रश्वासको विषयमा जानकारी लिने, स्वास्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुनेछ। घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासि समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ।
शुक्रवार दुईको धौलागिरि अस्पताल र एकको ढोरपाटन कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो। बिहीबार बडिगाडमा कोरोना शङ्कास्पद पुरुषको समेत अस्पताल आउनासाथ मृत्यु भएको थियो।
बागलुङमा एक साता निषेधाज्ञा थप
बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ। शुक्रवार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए।
जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। बागलुङमा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा भएको हो। सङ्क्रमणको दरमा कमी नआएपछि जेठ एक गतेदेखि १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो।