arrow

दश दिन गोठमा युवती बन्धक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
Bishnu_Gaunpalika.png

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको शिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको शिकार भएकी हुन् । 

गत बैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको शिकार भएकी हुन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । 

आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ बस’ भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताए । 

“जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भने । भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे । 

नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गरेका छन् । 

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । 

प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ