- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीमा जारी गरिएको निषेधाज्ञा थप एक हप्ताको लागि लम्ब्याइएको छ। सोमबार मलंगवामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले मङ्गलवार राति १२ बजेबाट जारी हुने गरी जेठ २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
जिल्लामा कोरोना सङ्क्रमण दर र मृत्युदरमा वृद्धि हुँदै गइरहेकाले निषेधाज्ञा थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्लाहीमा पहिलो पटक वैशाख २५ गतेबाट वैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो ।
पहिलो चरणमा लगाइएको निषेधाज्ञा गत ३१ सकिने भएपछि बैठक बसेर जेठ १० गतेसम्मका लागि लम्बाइएको थियो भने गत ९ गते बसेको डिसिसिएमसीको बैठकले फेरी जेठ १७ गते सम्मका लागि दोस्रो पटक निषेधाज्ञाको अवधि थप गरेको थियो । थप गरिएको निषेधाज्ञाको अवधि आज रातिबाट सकिने भएपछि फेरी जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा गरिएको हो ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने कार्यालयहरू खुल्ने छन् भने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । तरकारी किनबेच हुने बजार बाहेक अन्य हाटबजार भने बन्द गरिएको छ ।
गृह मन्त्रालयले पाँच सयभन्दा बढी सङ्क्रमित सङ्ख्या रहेका जिल्लाका प्रमुखहरूले जिल्लामा निषेधाज्ञा जारी गराउन सक्ने निर्णय गरेकाले सर्लाहीमा पनि जनस्तरमा पर्न सक्ने गम्भीर असरलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा १ बमोजिम निषेधाज्ञा थप गरिएको प्रजिअ तामाङले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीले कोरोना संकट व्यवस्थापन अध्यादेशको अधीनमा रही जारी गरिएको निषेधाज्ञालाई अवज्ञा गरे गराइएको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने पनि चेतावनी दिएको छ।