arrow

प्रदेश २ सरकारमा कांग्रेसको दाबीः विमलेन्द्र र उपेन्द्रबीच डेढ घण्टा संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
nidi-yadav.jpg

काठमाडौं । प्रदेश २ को सरकार समीकरणका विषयमा कांग्रेस उपसभापति विमलेन्द्र निधि र जसपा अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा संवाद भएको छ । सो क्रममा प्रदेश २ सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी गरेको छ ।

शुक्रबार बिहान कांग्रेस उपसभापति निधि र जसपा अध्यक्ष यादवबीच निधि निवास बानेश्वरमा डेढ घण्टा सम्भावित सत्ता समीकरणबारे छलफल भएको हो । भेटमा जसपा अध्यक्ष यादवले प्रदेश २ सरकारलाई केन्द्रमा जस्तै गठवन्धन बनाएर जोगाउनु पर्ने प्रस्ताव निधि समक्ष राखेका छन् ।

सो क्रममा कांग्रेस उपसभापति निधिले भने तीन वर्ष जसपाले प्रदेश सरकारको नेतृत्व गरिसकेको भन्दै बाँकी समय नेतृत्व कांग्रेसलाई दिन यादव समक्ष प्रस्ताव गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

तर निधिको प्रस्तावलाई यादवले पहिले सरकारमा सहभागी भएर थप अवस्थाका विषयमा छलफल गरेर अघि बढ्न निधिलाई आग्रह गरे । निधिले प्रदेश २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति निधिसँग समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताए ।

‘समसामयिक घटनाक्रमका विषयमा छलफल भयो, प्रदेश २ सरकारका विषयमा पनि केही कुरा भए, केन्द्रको गठवन्धनलाई ध्यान दिने पक्षमा हामी सहमत छौं,’ भेटबारे जानकारी दिंदै यादवले हाम्राकुरासँग भने ।

हाल प्रदेश २ मा अहिले जसपाको समूहका लालबाबु राउत मुख्यमन्त्री छन् । जसपामा विवाद बढ्दै जाँदा महन्थ ठाकुर पक्षलाई सरकारबाट हटाउने यादव पक्षको तयारी छ ।

प्रदेश नम्बर २ मा हाल जसपाको एकल सरकार छ । जसपाको ठाकुर समूह प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएपछि यादव समूहले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको छ ।

प्रदेश २ मा जसपाको यादव समूहका ३०, ठाकुर समूहका २५, नेपाली कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८ र संघीय समाजवादी पार्टीका एकजना सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ