arrow

बाढी र पहिरोको विपद्, सय बढी घर परिवारलाई सारियो अन्यत्र   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
badhi-kaligandaki-myagdi.jpg

म्याग्दी । केही दिनयताको निरन्तरको वर्षापछि म्याग्दीका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानबाट प्रभावित १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीको विवरणमा समावेश नभएकासहित जिल्लाभर विस्थापित हुनेको परिवार सङ्ख्या १०० भन्दा बढी छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जिल्लाका सबै स्थानीय तह मनसुनजन्य प्रकोपबाट प्रभावित भएको र सडक यातायात ठप्प बनेको बताए । प्रहरीका अनुसार बेनी नगरपालिकाको बगरफाँट, सिंगा तातोपानी र घतानमा ४६ घरका १७९ जना विस्थापित भएका छन् । 

मङ्गला गाउँपालिकाको हाँडेभिरको एक घरका पाँच, मालिका गाउँपालिकाको वडा नं १, ४ र ६ को २० घरका ८५, अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का १० घरको ४२ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं २ र ४ को आठ घरका ३० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । 

यसैगरी धवलागिरि गाउँपालिकाको खोरियामा सडकबाट आएको बाढीले १४ घर विस्थापित भएका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–२ मा नौ घर बाढी पहिरोले बगाएको र २० घर परिवार विस्थापित भएको वडासदस्य समबहादुर विकले बताए । 

यसैगरी रघुगङ्गा–८ का वडाध्यक्ष गमान छन्त्यालले चौरखानी गाउँका ३५ घरपरिवार विस्थापित भएको र घ्यासीखर्कमा रहेको स्वास्थ्य चौकी रघुगङ्गा नदीको कटानको जोखिममा परेको बताए । 

भौगोलिक विकटताका सार्थ सडक र सञ्चार अवरुद्ध भएकाले खोरिया, रुम र कुइनेमङ्गलेमा प्रहरी पुगिसकेको छैन । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी जोखिमयुक्त बस्तीका मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खटिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ