arrow

मनसुनी विपद् कायमै, शुक्रबार कहाँ कहाँ अपनाउने सचेतना, यस्तो छ वर्षाको विवरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
pahiro-final-all-time.jpg

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । त्यसैगरी पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेको छ । 

त्यस्तै उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

यता नेपाल बाढी सूचनाले शुक्रबार प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक वहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

यता महाशाखाले बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आइतबारसम्मै वर्षा हुने पूर्वानुमान गरिएको छ । यसअघि शनिबारसम्म वर्षा हुने बताइएको थियो । तर मनसुनी वायुको प्रभाव रहेकाले यसको प्रभाव अझै कायमै रहने जनाइएको छ । 

९० दिनको मौसमी वायुमा १८ लाख मानिस प्रभावित हुने भन्दै सचेत रहन आग्रह गरिएको छ । गत जेठ २८ गतेदेखि शुरु भएको मनसुनबाट एक हप्ताभित्रै एक दर्जन बढीको ज्यान गइसकेको छ भने दुई दर्जन भन्दा बढी बेपत्ता रहेका छन् ।

केही दर्जन अझै सम्पर्क बाहिर रहेको बताइएको छ । विभिन्न जिल्लामा संचारसम्पर्क विच्छेद भएकाले यकिन विवरण आउन सकेको छैन । 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिपायलमा २७.८ मिलिमिटर वर्षा भएको छ । जुम्लामा २६.३, वीरेन्द्रनगरमा २४.५, डडेलधुरामा १४.४ तथा घोराहीमा ११.२ मिलिमिटर वर्षा भएको छ । 

सबैभन्दा बढी पानी पर्ने भनिएको पोखरामा जम्मा ५.४ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको भने मापन गरिएको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ