arrow

महाधिवेशन गर्न जिम्मेवार बनोस नेविसंघ केन्द्रीय समिति

logo
लोकहरि पौडेल,
प्रकाशित २०७३ असार २१ मंगलबार
NSU-Flag.jpg.jpeg
नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकेको करिब एक दशक भईसकेको छ। विगतको नेपाली राजनीतिमा सदैव अग्रणी स्थानमा रहेर देशको हरेक परिवर्तनको इतिहास कोरे पनि आफ्नो संगठनमा परिवर्तनको पक्षमा र नयाँ परिस्थीति अनुरुप काम गर्न नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्न नसकेको महशुस तमाम काँग्रेसी कार्यकर्ता र आमनागरिकले पनि गर्न थालेका छन्। 
 
काँग्रेसका नेताहरु “हामीले राणा शासनको अन्त्य गर्‍यौँ, प्रजातन्त्र ल्यायौँ, पञ्चायती व्यवस्था विरुद्ध लड्यौँ, प्रजातन्त्रको पुनर्स्थापना गर्‍यौँ, राजाका विरुद्ध लड्यौँ, गणतन्त्र ल्यायौं।” भन्ने इतिहासका कुराहरु मात्र गरिरहेका हुन्छन्। आगामी भविष्यका लागि के गर्ने ? भन्ने विषयका कुराहरु नेपाली कांग्रेसका कमै नेताले गर्दछन्। यस कारण कुनै समय संसदमा दुइ तिहाई सदस्य रहेको पार्टी खस्किएर सांसद सदस्य संख्याको एक तिहाइ पुगिसक्यो। यसतर्फ नेताहरुको ध्यान केन्द्रीत हुन सकेको छैन। नेताहरुले हामी सबैभन्दा ठुलो पार्टी भनेर भाषण गर्न छाडेका छैनन्। आफ्ना भातृ संस्था सक्रिय, चुस्त–दुरुस्त हुन नसक्दा पार्टीले कति नोक्सानी वेहोर्नु परेको छ, भन्ने मुल्यांकन नेपाली कांग्रेसका नेताले गर्न सकेका छैन। संसार लोकतान्त्रिकरण हुदैछ। लोकतन्त्रको विकल्प छैन। हामी लोकतान्त्रिक पार्टी हौँ र सदैव जनताले हामीलाई विश्वास गर्दछन्, भन्ने सोच कांग्रेसका नेताहरुमा रहेको देखिन्छ। हाम्रा नेताले यो पनि विर्सिए जस्तो छ, कांग्रेस बहुलवादमा विश्वास राख्ने बहुदलीय व्यवस्था मान्ने पार्टी हो भनेर। काँग्रेसको विकल्पमा अरु पनि पार्टी आउन सक्दछन् भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्व वर्गले बुझ्नु आवश्यक छ। 
 
नेपाली कांग्रेसमा अहिलेका सभापती शेरबहादुर देउवादेखि नेता विमलेन्द्र निधी, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर के.सी. प्रकाशशरण महत, बालकृष्ण खाँड, एन.पी. साउद हुदैँ गगन थापा लागायतका जति पनि नेताहरु स्थापित भए, ति प्रायः नेपाल विद्यार्थी संघमा काम गरेर गएका नेताहरु हुन। सबै नेपाल विद्यार्थी संघ बुझेका नेता पार्टीको नेतृत्व तहमा रहँदा पनि एक दशकसम्म नेपाल विद्यार्थी संघको महाधिबेशन नहुनु नेपाली काँग्रेसको संगठन विस्तारका लागि राम्रो होइन। 
 
नेपाल विद्यार्थी संघको विधान अुसार महाबिधेशन भएमा केहि योग्य युवा नेता प्रत्येक महाधिबेशनबाट उत्पादन हुन्छन्। तर हामी पुराना नेताहरुको हालिमुहाली नचल्ने हो की भन्ने त्रासले नेताहरु महाधिबेशन गर्न नचाहेका हुन कि भन्ने आशंका बढेको छ? योग्य युवा नेता उत्पादन हुँदा पार्टीलाई घाटा हुँदैन फाइदा नै हुन्छ। यदि कसैले पार्टीलाई घाटा लाग्दछ भन्ने धारणा तथा दृष्टिकोण राख्दछ भने उसले राजनीति नै छोड्दा पनि फरक पर्दैन। 
 
आफुलाई लोकतन्त्रको हिमायती भन्ने नेपाली काँग्रेसले आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिबेशन पनि गराउन नसक्नु लाजमर्दो कुरा हो। तर यो लाज ढाक्ने काम हुन खोजेको देखिदैछ। नेपाल विद्यार्थी संघको अहिलेको नेतृत्वबाटै महाधिबेशन गराउन पार्टीले अन्तिम अवस्थासम्म प्रयास गर्नुपर्दछ। यदि सहज नभएको खण्डमा वैकल्पिक व्यवस्था खोजेर त्यसबाट निकास निकल्नु अपरिहार्य छ। अन्यथा काँग्रेस उत्पादन गर्ने नर्सरीका रुपमा रहेका नेपाल विद्यार्थी संघमा नयाँ अनुहारहरु आउन आकर्षित हुदैनन्। नेपाल विद्यार्थी संघ मात्र होइन नेपाली काँग्रेसका अन्य भातृ संस्थाहरुमा पनि समस्या उस्तै छ। यसतर्फ नेतृत्व सजक हुनु अत्यावश्यक छ।  
 
नेपाल विद्यार्थी संघको माहधिबेशन गर्न मातृ पार्टीका सभापती शेरबहादुर देउवाले दिएको निर्देशन अनुरुप नेपाल विद्यार्थी संघको केन्द्रिय समिति गइरहेको छैन। केन्द्रिय समितिको मिटिङ भए पनि त्यसको माइन्युट हुन सकेको छैन। यहाँ कोहीलाई कतिवेला निर्वाचन हुन्छ र विजयी हौँला भन्ने हतार छ, भने कोहीलाई आफ्नो समुहको नेतृत्व उम्कने भयो भन्ने चिन्ता छ। उनिहरु आफु निर्वाचनमा नजित्ने भएपछि निर्वाचन हुने वातावरण सृजना हुन किन दिने भन्ने पक्षमा रहेको देखिन्छन्। लोकतन्त्रमा निर्वाचन हुन्छ, निर्वाचन भएपछि जीत हार हुन्छ र निर्वाचनमा भाग लिने सबैले व्यक्तिले जित्दैनन् भन्ने कुराको हेक्का राख्न सबैले जरुरी छ। त्यसकारण नेपाल विद्यार्थी संघमा नयाँ पुस्ताको आकर्षण बढाउने हो भने जीत हारको चिन्ता छाडेर निर्वाचनमा जानु अति आवश्यक छ। 
 
यहाँ अर्को कुरा के पनि प्रष्ट छ, भने नेपाली कांग्रेसका सभापति मात्रको चाहनाले नेपाल विद्यार्थी संघको महाधिबेशन हुँदैन। यसका लागि नेपाल विद्यार्थी संघको केन्द्रिय नेतृत्व पनि इमान्दार र जिम्मेवार हुन पर्दछ। यदि नेपाल विद्यार्थी संघको नेतृत्व इमान्दार भएन भने मातृ पार्टीले इमान्दार व्यक्ति खोजेर उसलाई महाधिबेशनको जिम्मेवारी दिनुपर्दछ। यो अवस्था सृजना गर्ने कि नगर्ने भन्ने नेपाल विद्यार्थी संघको अध्यक्षको हातमा छ। उनि कसैलाई दोष लगाएर उम्कन सक्ने ठाउँमा छैनन्। महाधिबेशन गरेर नेतृत्व हस्तानान्तरण गर्नु नै उनको सफलता हुनेछ।
 
(लेखक नेपाल विद्यार्थी संघमा क्रियाशिल छन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ