arrow

सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटेल तथा पर्यटन व्यवसायीहरूलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
hotel-business-finance-minister.jpg

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटेल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटेल तथा पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन्।

होटेल सङ्घ नेपालको सुझाव पत्र बुझेपछि अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटेल र पर्यटन क्षेत्रका धेरै मागहरू सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन्।

बजेटमा होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइने उल्लेख गरिएको जानकारी गराउँदै उनले कोभिडका बेला यो भन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको धारणा व्यक्त गरे। अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीहरूलाई आग्रह गरे।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटेललाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट दिने, कोभिडबाट प्रभावित होटेल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ।

यस्तै होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिडका सञ्चालनमा आउन नसकेका होटेललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार रकम उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ।

होटेल सङ्घ नेपालका अध्यक्ष सिर्जना राणाले होटेललाई सेवामूलक उद्योगमा राख्नु ठुलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटेल सङ्घ नेपालले दिएको सुझावहरू बजेटमा सम्बोधन भएकोमा धन्यवाद दिइन्।

होटेल सङ्घ नेपालले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैङ्क तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैङ्कमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नु पर्ने, हाल कायम रहेका पुनकर्जाको रकम थप गरिनु पर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनु पर्ने लगायतका सुझाव दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ