arrow

प्रेरणादायी प्रदिप: जसले डेरामै खाना पकाएर एक लाख भोकाहरुलाई बाँडे

logo
युवराज गौतम
प्रकाशित २०७८ असार १२ शनिबार
pradeep-ghimere.jpg

काठमाडौं । एउटा भनाइ छ-‘मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन हुँदैन् ।’ तर मनमात्र भयो भने धन जुटाउन समय नलाग्ने रहेछ । धन यो अर्थमा जुट्ने रहेछ जसको सदुपयोग समाजका लागि होस । दीनदुःखी, निमूखा र भोकानाङ्गाहरुका लागि होस । अशक्त र असाहयहरुका लागि होस । भोको पेटमा सडक पेटीमा ढलिरहेका लागि होस । सरकारबाटै हेपिएका र पिल्सिएकाहरुका लागि होस । ठूला र संभ्रान्तहरुबाट निमोठिएका लागि होस । यी सबैका प्रिय बन्दै गइरहेका छन् एक युवा । जो संकटका सारथी र दुःखका सहयोगी बनेर उभिएका छन् ।

हो, उनी हुन् प्रदिप घिमिरे । गोजीमा सुको नभए पनि हजारौं भोकाहरुको भोग मेटाएर पुन्य कमाइरहेका छन् । १४ बर्ष अघि रामेछापको सालुबाट काठमाडौं उत्रिएका उनी सयौं दिन भोकभोकै सडक चहारे । दुःख के हो बुझे । भोक के हो भोगे । पारिवारिक हन्डर ठक्कर खाएका प्रदीपको काठमाडौंको बसाइ सुखद रहेन । तर भोकाहरुको माया अथाह पाइरहेका छन् । दुःखी र असहासहरुको स्नेह पाएका छन् । यो सबै माया र स्नेह पाउनु सामान्य होइन । उनको आफ्नै भोगाइ र सोचले उनले ति ‘भुइँमान्छे’हरुको आर्शिवाद पाएका छन् ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु गर्यो । पटक पटक गर्दै लकडाउन चार महिनासम्म चल्यो । यही महामारीमा प्रदीपको सक्रियता बढ्यो । स्नाकोत्तरका विद्यार्थी प्रदिपसँग मानवअधिकारको क्षेत्रमा लडेको अनुभव पनि छ । मानवअधिकार र लैङ्गिक हिंसाका बारेमा लड्दा लड्दै मानवीय समस्या बुझेका उनले लकडाउनको अवधिमा साँच्चै मनकारी काम गर्न भ्याए ।

‘आफ्नै जीवन भोगाइले अरुको दुःख बुझ्ने मौका मिल्दो रहेछ । मैंले लकडाउनको बेला सडकमा भेटिएकाहरुको दुःख देखें । पीडा सुने । त्यसपछि मैंले एउटा अठोट गरेको हुँ’ उनले भने, ‘शुरुमा मैंले आफ्नै कोठामा एकसय आठ छाक खाना पकाएँ र सडकमा भोकभोकै भौतारिरहेकाहरुलाई वितरण गरें,’ उनले भने ।

त्यसपछिका करिब १५ महिनायता प्रदिपले निरन्तर तातो खाना वितरण अभियान चलाए । श्रीमती तुलसी भण्डारीले जागिर गरेर ल्याएको पैसाले उनले तेल, चामल र आवश्यक सामाग्री खरिद गरे । र उनले निरन्तर खाना वितरण अभियान चलाए । ‘हुनत खाना वितरण गर्नुअघि हामी केही व्यक्तिहरू मिलेर दाल, चामल, नुन तेल लगायतका दिनिक उपभेग्य खाद्य सामग्री वितरण गरेका थियौं तर यसले मात्र मेरो चित्त बुझेन’ उनले भने,‘त्यसपछि मैंले प्रहरीसँग परामर्श गरेर तातो खाना वितरण अभियान चलाएको हुँ । खानासँगै पुष माघको कठ्याङ्ग्रिदो जाडोमा लता कपडा विरतण गरेको छु ।’

शुरुका दिनमा आफ्नै बलबुताले खाना खुवाउँदै आएका प्रदिपले पछि-पछि भने सहयोगी दाताहरु भेट्न थाले । उनको काम देखेर केही मनकारी व्यक्तिहरुले स्वतःस्फुर्त रुपमा सहयोग गर्न आए । ‘सहयोग जुट्न थालेपछि मलाई थप हौसला मिल्यो । हरेक साँझ भोकाहरुलाई एकछाक खाना खुवाउन थप उत्साह मिल्यो । खाना बोकेर हरेक साँझ सडक सडकमा पुग्नु मेरो दैनिकी बनिसकेको छ’ उनले भने । शुरुमा आठ नौ जना साथीहरुसँग मिलेर अभियान चलाएका प्रदीप हिजोआज आफ्नै श्रीमती र एक जना सहयोगीको साथमा ‘तातो खाना वितरण अभियान’लाई निरन्तरता दिइरहेका छन् ।

 शुरूमा आफू बसेको घरको बाहिर खाना बनाउँथे पछि उनलाई घरपेटीले खाना बनाउन दिएनन् । घरपेटीले खाना बनाउन नदिएपछि उनले साँघुरो आफ्नै कोठाको लोबेडमाथि खाना बनाउन शुरु गरेका थिए । अहिले नजिकै सटर लिएका छन् । त्यही सटरमा खाना बनाएर बाटो बाटोमा लैजान्छन् । खाना प्याक गर्ने अनि सडकका भूइँमान्छे वा अप्ठेरोमा परेर खान नपाएकाहरुलाई खाना खुवाउँदै आएका उनले भने,‘यो १५ महिनामा संभवत एक लाख छाक खाना खुवाएँ होला तर ठ्याक्कै तथ्याङ्क छैन् । तर पनि दैनिक सय सयौ जनालाई सेवा प्रदान गर्दै आइरहेको छु ।’

अभियानको शुरुवात

कोरोनाको महामारी शुरु भएपछि लगाइएको लकडाउनमा हुनेखानेहरु पेटभरी खाएर घरमा बसे तर हुँदा खानेहरू भोकभोकै भए । दैनिक ज्यालादारी गर्ने ज्यामी, मजदुर, असाहय, अशक्त, अपाङ्ग, बृद्ध बृद्धा, अनाथ बालबालिकाहरुको खाने बाटो बन्द भयो । यसैबेला प्रदीपले नयाँ सोच बनाए । जति सकिन्छ डेरामा पकाएको खाना लगेर वितरण गरौं । उनले शुरु गरिहाले । किनकी मजदुरहरुले पनि राहतभन्दा पनि खानाको माग राखे ।

त्यसपछि उनले महानगरीय प्रहरी परिसर टेकुका प्रमुखसँग आफ्नो प्रस्ताव सुनाए । प्रहरी प्रमुखले खुलेर सहयोग गरे । ‘डेरामै खाना बनाउँछु भनेर शुरु गरेको हुँ । तर घरबेटीले किचकिच गरेपछि अहिले सानो बेग्लै सटर भाडामा लिएर खाना बनाइरहेको छु । सयौंजनालाई साँझ खाना पाक्छ’, उनले भने,‘मैंले बाल्यकालदेखि नै भोक के हो भोगेको छु । कलिलै उमेरमा आमाको स्वर्गवास भएपछि मैंले थुप्रै दुःख भोगेको छु, जसका कारण अरुको दुःखमा सहयात्री बनेको हुँ ।’

शुरुमा खाना बोक्नलाई केही मनकारी व्यक्तिले गाडी दिएका थिए । तर अहिले उनी आफ्नै स्कुटीमा खाना बोकेर भोकाहरुका पुगिरहेका छन् । श्रीमती तुलसी भण्डारी, सानी छोरी प्रत्युसा र फुटबल खेलाडी सहयोगी भाइ रोशन बुढाथोकीले खाना बनाउन तथा प्याक गर्न र वितरण गर्न सहयोग गरिरहेका छन् ।  ‘म अहिले पनि लगभग रातको ८ बजेपछि खाना बोकेर भिमसेनगोला, सिनामङ्गल, गौशला, भण्डारखाल, चाबहिल, बौद्द, जोरपाटी, पशुपति लगायतका क्षेत्रमा पुग्छु । किनकी त्यहाँ भोकाहरु मेरै प्रतिक्षामा हुन्छन् ।’

स्वतःस्फूर्त सहयोग

प्रदिपले शुरुमा आफैं र श्रीमतीले जागिर गरेर ल्याएको पैसाले खाना वितरण गरे । विस्तारै सहयोगी दाताहरु आउन थाले । ‘मेरो आफ्नै नेटवर्कका कारण सहयोगीहरु जुट्न थाले, त्यसले मलाई दाल, चामल, तेल ग्याँस, तरकारी, पानी, प्याकिङ सामग्री लगायत अत्यावश्यक वस्तुहरू किन्न सहयोग मिलेको छ,’उनले भने । शान्ति सेवा गृह, कुमारी बैंक, लाइन्स क्लब अफ काठमाडौं कलंकी लगायतका स्वदेश तथा वदेशमा बस्ने सहयोगी दाताहरुले मन फराकिलो बनाएका छन् । त्यसबाहेक व्यक्तिगत रुपमा सहयोग जुटिरहेको छ ।

सडकमा अनेकथरी भोका

कोरोनाको संकटमा मात्र होइन अन्य समयमा पनि सडकमा भोकाहरु भौतारिरहेका हुन्छन् । तर प्रदिपको अनुभवमा आफूले चार थरीका भोका व्यक्तिहरु भेटेको बताए । दैनिक ज्यालादारी गर्ने मजदुर वा श्रमिक, एकल महिला, वृद्धवृद्धा, दीर्घरोगी, मुटु रोगी, मृगौला रोगी, सुत्केरी, विभिन्न कारणले घरवार विहीन भएका, अपाङ्गता भएका व्यक्तिहरु भोकले भौतारिरहेको उनले भेटेको बताए ।

मानसिक रोग लागेर सडकमा पुगेका, सडकमै जन्मिएर सडकमै हुर्किएका देखि शिक्षक र नेताहरु पनि सडकमा आएको उनले भेटेको बताए । कति व्यक्तिहरु डेरा भाडा तिर्न नसकेर पनि सडकमा आएको उनले भेटे । काम नै नपाएर भौतारिरहेका भोकाहरु पनि आफूले भेटेको प्रदिपको अनुभव छ ।

उनले आफूलाई सहयोग गर्ने दाता, हौसला दिने शुभेच्छुकहरुलाई धन्यवाद पनि दिएका छन् । सरकारले सडकपेटी व्यक्तिहरुका बारेमा सोचेन । काम गरेन । तर आफूलाई काम गर्ने अवसर दिने सरकारलाई पनि उनले बधाइ दिन भ्याए । ‘अब म न्याय नपाएर भौतारिरहेका, विदेशमा फसेका र कानुनी जटिलता भोगिरहेका, विना गल्ती विदेशी जेलमा परेका, लैङ्गिक हिंसा भोगेका र अनाथहरुका लागि केही गर्ने योजना बनाएको छु । उहाँहरुको लागि लड्ने मेरो दृढ इच्छा छ, उलने भावी योजना सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ