- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आगामी कार्तिक र मङ्सिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्ने स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई प्रतिनिधि सभा निर्वाचनका लागि सो रकम गर्ने सहमति दिएको हो ।
आयोगले सो रकम प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८, को सञ्चालन र व्यवस्थापनमा खर्च गर्न पाउने छ । सो रकम निर्वाचन प्रयोजनमा प्रयोग हुने कागजदेखि मसी, स्वस्तिक छाप, प्रचार सामग्री, शिक्षा कार्यक्रम लगायत व्यवस्थापकीय काममा प्रयोग हुने छ ।
यसै गरी आयोगले मतदानका लागि बनाउने बुथदेखि मतगणनासम्मका लागि सो रकम खर्च हुने भनेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अर्थले स्वीकृति दिएको रकम बारे आयोगमा पत्र भने आई नपुगेको जानकारी दिए । सरकारले प्रतिनिधि सभा विघटन गरी २६ कार्तिकमा पहिलो चरण र ३ मङ्सिरमा दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने गरी प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको थियो ।
निर्वाचन आयोगले भने निर्वाचनका लागि ८ अर्ब ९८ करोड खर्च अनुमान गरेको थियो । ‘निर्वाचन प्रक्रियामा लाग्ने कागजदेखि लजिस्टीक सामग्री खरिद र निर्वाचन प्रक्रियाको व्यवस्थापनमा आयोगले प्राप्त गर्ने रकम खर्च हुन्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । आयोगले बजेट प्राप्त भए लगत्तै निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि टेन्डर गर्ने तयारीसमेत गरिरहेको छ ।
आयोगले अघिल्ला निर्वाचनमा भन्दा यस पटक फरक रूपमा निर्वाचनको व्यवस्थापकीय तयारी गरिनेसमेत जनाएको छ । यस वर्ष कोभिड १९ को सङ्क्रमणलाई ख्याल गर्दै आयोगले अघिल्ला निर्वाचनमा भन्दा फरक रूपमा आवश्यक तयारी गरिने जनाएको हो ।