arrow

देउवा नेतृत्वमा सबैलाई समेटेर सानो आकारको मन्त्रीमण्डल बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं। पाँच दलीय गठबन्धनले सर्वोच्च अदालतले सोमवार गरेको प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसलालाई स्वागत गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले हिजो प्रतिनिधिसभा पुनः स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो।

प्रधानमन्त्रीमा १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शपथग्रहण मङ्गलवार अपराह्न ४ बजे पछि हुने भएको छ। उनले मङ्गलवार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरूबीच कुराकानी भएको कांग्रेस नेता बालकृष्ण खाँडले बताए।

अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनः स्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ। अदालतले मङ्गलवार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए। उनले मङ्गलवार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरूबीच कुराकानी भएको बताए।

बैठकपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अदालतले हिजो गरेको फैसला स्वागत गर्दै देशका सामु रहेका समस्या समाधान गर्ने गरी गठबन्धन अगाडि बढ्ने विश्वास व्यक्त गरे। नयाँ सरकारलाई प्रभावकारी बनाउँदै देश र जनताका समस्यालाई समाधान गर्ने गरी आफूहरु अगाडि बढ्ने जसपा नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा.भट्टराईको भनाइ थियो।

नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले प्रतिनिधिसभा पुनः स्थापना प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरी अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार सरकार गठनलगायत विषयमा मङ्गलवार शीर्ष नेताबीच  पुनः छलफल हुने र आवश्यक निर्णय हुने छ।

सो बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान र लोकतन्त्र रक्षाको सङ्घर्षमा सधैँ सहयोग रहने जनाउँदै जनताको समस्या समाधान गर्ने गरी अगाडि बढ्न पूर्व प्रधानमन्त्री देउवालाई शुभकामना दिएका थिए।

बैठकपछि पूर्व प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै एमाले नेता रघुजी पन्तले भने, “संविधान, लोकतन्त्र र विधिका लागि म सधैं लड्दै आएको छु। मेरो साथ त्यसमा सधैँ रहन्छ। फैसलापछि परिस्थिति बदलिएको छ । मेरो पार्टीमा पनि एकताको प्रक्रिया अगाडि बढेको छ।”

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत नेताको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ