arrow

सर्लाही काँग्रेसमा विवाद : क्षेत्रीय सभापतिले गल्ती गरेको जिल्ला सभापतिको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
sarlahi-congress.JPG

काठमाडौँ  । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका काँग्रेस नेताहरूले आपत्ति जनाएका छन् । सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रीय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरे । 

मङ्गलवार रिपोर्टर क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘सर्लाही जिल्लामा क्रियाशील नवीकरण र समायोजनको विषयमा धाँधली भएको छैन । ममाथि लगाइएको आरोप झुटो हो । नयाँ सदस्यताको हकमा क्षेत्रीय सभापतिलाई विधानतः अधिकार दिइएको छ, वडा सभापतिमार्फत जति नयाँ फाराम पटाइयो, त्यसको भरपाई दिइयो । फाराम बुझ्ने काम गर्नुभयो, तर ईन्ट्री दिएन । ईन्ट्री नदिएको ठाउँमा उल्टै उनले १५० जना आफ्नो मान्छे राखेर ईन्ट्री गराए । क्षेत्रीय सभापति दिनेश मिश्रले गल्ती गर्नुभएको छ ।’

उनले आफूले जंगीलाल रायको रोहबरमा फाराम दिएको पनि सुनाए । उनले भने,‘अहिले केन्द्रीय कार्यालयमा जो जो साथीहरू धर्नामा बस्नुभएको छ, उहाँहरूले नै गल्ती गर्नुभएको छ । बदमासी उनीहरूले नै गरेको हो ।’ उनकाअनुसार यो विवादको घटना सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को भएको सुनाए । उनले कागजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले आफूले केन्द्रबाट लगेको फाराम लगेर क्षेत्रीय सभापतिलाई बुझाएको उल्लेख गर्दै क्षेत्रीय सभापति मिश्रले ११ वटा वडामा फाराम नै नदिएको र त्यही बचेको फरामलाइ गलत रुपमा प्रयोग गरेको पनि आरोप लगाए । 

उनले ब्रम्हपुरीको वडा नम्बर ७ मा ५९ जना क्रियाशील सदस्यहरूमा ५८ जनाको नाम हटाएर क्षेत्रीय सभापति मिश्रले आफ्नो मान्छेको नाम राखेको दाबी गरे । उनले भने,‘यस्ता उदाहरण धेरै छन् । हामीले यो समस्यालाई लिएर पार्टी सभापतिलाई भेटेर कुरा राखेका छौँ । अरू नेताहरू रमेश लेखक, आनन्दप्रसाद ढुङ्गानालाई पनि भेटेर ध्यानाकर्षण गराएका छौँ ।’ 

कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले जिल्ला सभापति नागेन्द्रको भनाइलाई समर्थन गरे । उनले भने,‘उहाँले भनेको कुरा सही हो ।’ उनले अहिले पार्टी मुख्यालय सानेपामा धर्नामा बस्नेहरूले नै गल्ती गरेको र उक्त गल्ती ढाकछोप गर्नको लागि यस्तो नाटक गरेको टिप्पणी गरे । 

त्यस्तै, केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले पनि जिल्ला सभापतिले भनेका कुराको समर्थन गरे । उनले भने,‘उहाँको काममा हामी सन्तुष्ट छौँ । बरु, सर्लाहीमा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेकाहरूलाई समायोजन गर्न हिचकिचाहट भयो ।’ उनले अरू पार्टी त्यागेर काँग्रेसमा आएकालाई स्थान नदिइएको भन्दै गुनासो पोखे ।  

काँग्रेस नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले पनि काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो क्षेत्रमा नजाने तर काठमाडौँमा बसेर राजनीति गरेको आरोप लगाए । सर्लाहीमा क्रियाशील सदस्यताको विवाद सर्वसम्मतले टुङ्गो लगाएको पनि उनको भनाई  । उनले भने,‘सर्वसम्मतिले गरेको निर्णयलाई मानेर जानुपर्छ ।’

कार्यक्रममा प्रदेश नम्बर २ का नेपाली काँग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाह, जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह र महासमिति सदस्य अजित सिंहलगायतको उपस्थिति थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ