जसपाको ठाकुर पक्ष पनि सरकारमा जान तयार, लैजाने नलैजाने जिम्मा देउवाको
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
1.5k
Shares
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि शेरबहादुर देउवा नेतृत्व सरकारमा जान तयार देखिएको छ । यद्यपि सरकारमा जाने विषयमा सो पक्षले औपचारिक निर्णय भने गरेको छैन ।
ठाकुर पक्षले अन्तिम समयमा प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको दिएको थियो । देउवालाई विश्वासको मत दिने बेला ठाकुर पक्षका नेता महन्थ ठाकुरले देउवालाई बधाइ तथा शुभकामना समेत दिएका थिए ।
देउवा प्रधानमन्त्री भएपछि ठाकुर पक्षले मंगलबार बोलाएको कार्यकारिणी समितिको बैठकले जसपाले राखेका माग पूरा गर्न देउवालाई ध्यानाकर्षण गराउने औपचारिक निर्णय गरेको छ । ठाकुर पक्षले देउवासँग रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा खारेज, लाल आयोगको प्रतिबेदन सार्वजनिक र नागरिकता विधेयक पास गर्न माग राखेको छ ।
ठाकुर पक्षका नेता राजिव झाले प्रतिनिधि सभामा शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आफूहरु सरकारमा जाने सम्भावना रहने बताए । ‘हामीले उहाँ ९देउवा०लाई विश्वासको मत दिएका छौ । त्यसैले हामी सरकारमा जान सक्छौ’झाले भने ।
यसैगरी ठाकुर निकट नेता डा।सुरेन्द्र झाले पनि सरकारमा जाने सम्भावना रहेको प्रतिक्रिया दिए । तर ठाकुर पक्षलाई सरकारमा लैजाने नलैजाने जिम्मा भने गठबन्धनका नेता तथा प्रधानमन्त्री शेर बहादुर देउवाको काँधमा रहेको छ।
केपी ओली नेतृत्व सरकारमा ठाकुर पक्षका १० नेता १९ दिन र एक नेता १३ दिनसम्म सहभागी भएका थिए । सर्वोच्चको फैसला पछि ठाकुर पक्षका नेताहरु सरकारबाट बाहिरिएका थिए । पछिल्लो समय ठाकुर पक्षका केही सांसदहरु अर्को पक्ष उपेन्द्र यादवतिर लागेका छन् । यसबाट संसदीय दलमा पनि यादव पक्ष बहुमतमा देखिएको छ ।
जसपाको यादव पक्ष भने सरकारमा जाने निश्चित भएको छ । निर्वाचन आयोगको फैसलापछि सरकारमा जाने निश्चित भएको यादव पक्षका नेता प्रदीप यादवले बताए । यादव पक्ष सरकारमा जाने निश्चित भएपछि ठाकुर पक्षका केही सांसदहरु यादव पक्षतिर लागेका थिए ।
ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिए पनि तत्काल ठाकुर पक्ष र यादवपक्षवीच मिलन हुने सम्भावना देखिएको छैन । यादव पक्षले ठाकुर पक्षका नेताहरुले सार्वजनिक रुपमा माफि नमागेसम्म एकताकोलागि सोच्न नसकिने बताएका छन् ।
मंगलबार बसेको ठाकुर पक्षका कार्यकारिणी समितिको बैठकमा एकताबारेमा कुरा उठे पनि एकताको विषयमा कुनै निर्णय गरिएन ।