कोकाकोलाको बदमासीः नेपालमा कम्पनी खडा गरेर विदेशमा सेयर बिक्री, समाचार लेख्दा पत्रकारलाई धम्की
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
1k
Shares
काठमाडौं। कोकाकोलाको नेपालस्थित कम्पनी बोटलर्स नेपालको बिषयमा समाचार लेख्ने कम्पनीले पत्रकारको ज्यान लिनेसम्मको धम्की दिएसँगै प्रशासनमा परेको उजुरी पछि केस सामसुम पार्ने प्रयास भएको पाइएको छ ।
बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपालको नियामक निकायलाई थाहै नदिई बाहिरै नै किनबेच गरेको पाइएपछि २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन समेत थालेको थियो । यसै बिषयमा लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीले समाचार लेखेपछि उनलाई तह लगाउन भन्दै बोटलर्स नेपालले ट्रेड युनियनहरुलाई माइन्युट गराई परिचालित गरेको थियो।
बुढाथोकीले यसै बिषयमा निरन्तर समाचार लेखेपछि बोटलर्स नेपालका तर्फबाट धम्की मात्रै आएन उनले कहाँबाट कसरी समाचार लेखिरहेका छन् भनेर छानबिन गर्नका लागि कम्पनीले सोझैं निर्देशन दिएको थियो । बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनको बैठक बोलाएर युनियनका प्रतिनिधिलाई धम्की दिँदै पत्रकार बुढाथोकीमाथि छानबिन गर्न निर्देशन दिएको हो ।
यति मात्रै हैन्, लुम्बिनी सञ्चारले प्रकासन गर्दै आएको टक्सार पत्रिका समेत कम्पनीले बजारमा आएजति सबै प्रति खरिद गरेर समाचार कब्जा गरेर नागरिकको सुसूचित हुने अधिकार समेत वञ्चित गरेको प्रधानसम्पादक बुढाथोकीले बताए । कोकाकोलाले नेपालबाहिरै शेयर बिक्री गरेको बिषयमा समाचार प्रकासन गरिएको पत्रिकाको मुख्य बितरकलाई नै सम्पर्क गरेर टक्सार म्यागाजिनको बजारमा आएजति नै प्रति कम्पनीले खरिद गरिरहेको बुढाथोकीले बताए ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको काम भएको नेपाल पत्रकार महासंघले विज्ञप्ती निकाली विरोध गरेको छ। महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तीमा घटनाको छानबिन गरी बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न माग गरिएको छ ।
नेपाल प्रेस युनियनले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ती जारी गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप गर्दै पत्रकारलाई आतंकित बनाउने एवं पत्रकारविरुद्ध यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न प्रशासनसँग जोडदार माग गरिएको छ ।
बोटलर्स नेपालले आतंकित बनाउने कार्य गरेपछि प्रहरी प्रशासनमा उजुरी गरेपनि झारा टार्ने कार्य मात्र भएको बुढाथोकीले बताए। उनले नचिनेका नम्बरबाट फोन गरि धम्की दिने कार्य रोकिए पनि डरको वातावरण अझै रहेको बताए ।