सरकारको स्वेच्छाचारीविरुद्ध हुम्लाका पत्रकार सडकमा
जनकबहादुर शाही,
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
159
Shares
हुम्ला । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै हुम्लाका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले सूचना तथा विज्ञापन वितरणमा गरेको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ हुम्ला शाखाले जिल्ला प्रशासन कार्यालय हुम्लाको गेटमै धर्ना दिएको हो।
महासंघ हुम्लाका अध्यक्ष राजन रावतको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा जिल्लाका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। करिब १५ मिनेटसम्म चलेको धर्नाका क्रममा पत्रकारहरको हातमा "प्रेस स्वतन्त्रता जिन्दावाद", "सूचना र विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गर", "स्वतन्त्र सञ्चारमाथिको हस्तक्षेप बन्द गर" जस्ता नाराहरू लेखिएका प्यलेकाड थिए।
प्रदर्शनकारी पत्रकारहरूले राज्यले करदाताको पैसाबाट सञ्चालित विज्ञापनलाई सीमित पहुँच र निकटताका आधारमा वितरण गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले यस्तो निर्णयले निष्पक्ष पत्रकारिता कमजोर बनाउने, स्थानीय सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण गर्ने बताएका छन्।
महासंघले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमलाई दबाबमा राख्ने र विभेद गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ। पत्रकारहरूले सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गर्दै अन्यथा देशव्यापी आन्दोलन थप सशक्त बनाइने बताएका छन्।
विज्ञापनमा विभेद बन्द गर, प्रेस स्वतन्त्रताको सम्मान गर भन्ने सन्देशसहित हुम्लाका पत्रकारहरूले सरकारको निर्णयविरुद्ध स्पष्ट असन्तुष्टि जनाएका छन्।