arrow

माधव नेपालले भने -सिङ्गो कम्युनिस्ट पार्टी बनाऔँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
madhav-kumar-nepal_1617970427.jpg

काठमाडौं ।  नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा शुक्रवार यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका हुन् । 

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई सिङ्गो कम्युनिष्ट पार्टीमा एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याए । उनले कम्युनिष्ट पार्टीबीच एकता भएमात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न  सकिने धारणा राखे । “सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन नसके पनि कार्यगत एकता गरौँ” उनले भने, “एकता नभए पनि जनता र राष्ट्रका साझा विषयमा एकताबद्ध भएर मिलेर जान सकिन्छ ।”

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले लोकतन्त्र, सुशासन, विकास निर्माण, जनताका पीरमर्कामा सबै कम्युनिष्ट पार्टीबीच मिलेर जान सकिने अवस्था रहेको भनाइ राखे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य गणेश साहले कम्युनिष्ट पार्टीबीच एकता गर्न नसके पनि कार्यगत एकता गर्नुपर्ने बताए । उनले पुष्पलाल श्रेष्ठ हुँदा नेपालमा एउटै कम्युनिष्ट पार्टी भएको भन्दै साँचो अर्थमा पुष्पलाललाई आदर गर्ने हो भने एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताए । 

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले विचार र सिद्धान्तभन्दा व्यक्तिगत कारणले कम्युनिष्टबीच बेमेल भएको बताए । उनले अहिले छरिएर रहेका कम्युनिष्टबीच एकता गर्नसके पुष्पलाल प्रति सम्मान हुने उल्लेख गरे । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिष्ट प्रति विश्वास गरे पनि कम्युनिष्टले त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए । उनले कम्युनिष्ट पटकपटक सरकारमा पुगे पनि जनताको अवस्था फेर्न नसकेको बताए ।कार्यक्रममा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनका कमीकमजोरीबारे छलफल गर्नुपर्ने बताए । 

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्टभित्र रहेका समस्याबारे छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकढिक्का बनाउन सकिने धारणा राखे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ