निर्वाचन परिणामबारे प्रश्न उठाउँदै माधव नेपालले भने - सुनामीको कारण एक दिन खुल्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
556
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति आशंका व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलतालाई ‘सुनामी’को संज्ञा दिँदै त्यसको पछाडिका कारणबारे खोजी भइरहेको बताएका हुन्।
उनले निर्वाचनका क्रममा सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै ती विषय एक दिन स्पष्ट हुने विश्वास व्यक्त गरे।
“यो एउटा सुनामी थियो। यसका पछाडिका कारणहरूको खोजी भइरहेको छ,” नेपालले भने, “सेनाको भूमिका कस्तो रह्यो, सरकारको भूमिका कस्तो रह्यो, निर्वाचन आयोगको भूमिका कस्तो रह्यो, मतपत्रको अवस्था कस्तो रह्यो, यी सबै कुरा एक दिन खुल्दै जानेछन्।”
नेपालले विसं २०४७ सालदेखि नै महिला र दलित समुदायको राजनीतिक सहभागिता सुनिश्चित गर्न आफूहरू सक्रिय रहेको दाबी गरे।
संविधान निर्माण र संवैधानिक व्यवस्थामार्फत महिला प्रतिनिधित्वलाई संस्थागत गर्न आफ्नो राजनीतिक धारले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
हाल निर्वाचित भएका नयाँ राजनीतिक दलका प्रतिनिधिहरूलाई संकेत गर्दै उनले मुलुकको राजनीतिक परिवर्तन, अधिकार प्राप्ति र समावेशी व्यवस्थाको इतिहासबारे पर्याप्त जानकारी नभएको टिप्पणी गरे।
साथै, पछिल्लो निर्वाचन परिणामपछि आफ्ना कार्यकर्ता र समर्थकहरू रक्षात्मक बन्न आवश्यक नरहेको भन्दै उनले आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।
विपक्षी दलहरू आक्रामक देखिए पनि आफ्नो पार्टीले विगतको योगदान र राजनीतिक आधारलाई बिर्सन नहुने उनको भनाइ थियो।
नेपालले पार्टी पंक्तिलाई विगतका उपलब्धिको रक्षा गर्दै आगामी दिनमा थप दृढता र सक्रियताका साथ अघि बढ्न आह्वान गरे।