arrow

इजरायलले माग्यो एक हजार नेपाली श्रमिकः कति हुन्छ तलब ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
Isral1.jpeg
तस्वीर :अल जजिरा

काठमाडौं । इजरायलले नेपाली श्रमिक लैजान एक हजार जना श्रमिकको माग गरेको छ । इजरायलले केयरगिभर कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालसँग सम्झौता भएको लामो समयपछि इजरायलले मागेको श्रमिकका लागि सरकारले आज मंगलबार विज्ञापन खुलाएर कामदारको माग गरेको हो । पहिलो चरणमा केयर गिभर मात्रै लैजाने तयारी छ । 

सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । विभागका इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाइएको हो ।

नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल पठाउनेछ ।

सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिने छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ ।

इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरेको यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ तथा ४५ केजी तौल भएको हुनुपर्ने भनेको छ ।

त्यसैगरी कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनु पर्ने भनेको छ ।

इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै एक लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ लाग्ने छ । छानिएको कामदारले ५ वर्षसम्म काम गर्न पाइनेछ । अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर भर्न सकिनेछ । कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ