पशुपति मन्दिर क्षेत्रमा धार्मिक र सांस्कृतिक अतिक्रमणको अर्को प्रयासः यसरी रोकियो क्रिस्चियन धर्म सम्बन्धी भिडियो निर्माण
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
670
Shares
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पाशुपत क्षेत्रमा धार्मिक र सांस्कृतिक अतिक्रमण बढ्न थालेको छ । केही दिन अघि पशुपति क्षेत्र विकास कोषले निर्धारण गरेका मापदण्डविपरित जंगलमा इसाइ धर्मका संस्थापक जिसस क्राइस्टसँग सम्बन्धि सामाग्रीहरुसहित भिडियो सुटिङको तयारी भएपछि त्यसको चर्को विरोध भएको छ ।
मिति २०७८।०४।१० गतेका दिन केन्द्र मोसन पिक्चर्स प्रा.लि.का नाममा म्यूजिक भिडियो र फिल्म सिरिज उत्पादन गर्ने भन्दै पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखी २०७८।०४।११ गते अनुमति लिइ कोषले तोकेको मापदण्ड विपरित भिडियो सुटिङ गरेको पाइएको छ ।
विकास कोषले २०७८।०४।११ गते विहान १२ बजेदेखि रातको १० बजेसम्म पशुपति क्षेत्रको भण्डारखाल जंगल हाताभित्र कोषको स्वीकृत मापदण्ड विपरित नहुने गरी रिमोट जडित यन्त्र‘ड्रोन क्यामेरा’ प्रयोग नगर्ने सर्तमा सुटिङको आदेश दिएपनि उक्त प्रा.लिका निर्माण प्रवन्धक विशाल कार्कीसहितको टोलीले क्रिस्चियन धर्मसँग सम्बन्धित ‘क्रुस’को प्रयोग गरी भिडियो सुटिङ भएपछि स्थानीयले विरोध गरेका हुन् ।
भिडियो सुटिङका लागि तयार गरिएका क्रुसहरुसहितको भिडियो बाहिरिएपछि हिन्दु धर्मका अभियन्ता र स्थानीयहरुले उक्त कार्यको विरोध गरेका थिए । मापदण्ड विपिरित भिडियो सुटिङ भएको आफूहरुलाई जानकारी प्राप्त भइसकेकाले सम्बन्धीत कम्पनीका निर्माण पक्षलाई सुटिङ बन्द गर्न लगाइएको पशुपति विकास कोषका कोषाध्यक्ष डा.मिलन थापाले जानकारी दिए । उनले मापदण्ड विपरित सुटिङ गर्ने उक्त कम्पनीलाई कानुनी कारवाहीको प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए ।
त्यस्तै पशुपति विकास कोषको कार्यकारी निर्देशकमा डा.घनश्याम खतिवडाले भिडियोको स्क्रिप्ट र कोषको नियमविपरित भिडियो सुटिङ गरेको पाइएकाले उक्त कार्यलाई तत्काल बन्द गरिएको जानकारी दिए ।
यसअघि पनि पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ ‘क्रिश्चियन’ सम्प्रदायको पक्की चिहान निर्माण गरिएकोमा विरोध भएको थियो । नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को आक्रमण भएको भन्दै उक्त चिहान निर्माण रोक्न माग भएको थियो ।
सर्वोच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपरीत पशुपतिनाथको वन क्षेत्रमा इसाइ क्रिश्चियन धर्मावलम्बीले शव गाड्ने र पक्की चिहान बनाउने कार्य गरेपछि सनातन धर्म महासङ्घ नेपाल लगायतका संघ संस्थाले चर्को विरोध गरेका थिए ।
त्यस्तै संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा सांस्कृतिक सम्पदामाथिको अतिक्रमण रोक्न निर्देशन दिइसकेको छ । पटक पटक पशुपति मन्दिर क्षेत्रमा हिन्दु धर्म र सनातन धार्मिक संस्कृति विपरितका गतिविधिहरु बढ्न थालेपछि हिन्दु धर्मावलम्बीहरुले चिन्ता ब्यक्त गर्दै आइरहेका छन् ।