- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । देशभर कोरोना भाइरसको सङ्क्रमण दर फेरि उकालो लाग्न सुरु गरेको छ । पछिल्लो एक साता अर्थात् साउन ८ देखि १४ गतेसम्म ५ दिन सङ्क्रमण बढेको छ भने, दुई दिन मात्रै थोरै सङ्ख्याले सङ्क्रमण घटेको छ ।
साउन ८ गते १७ हजार ३०८ नमुना परीक्षण गर्दा १७.२ प्रतिशत अर्थात् २ हजार ९७७ जना सङ्क्रमित भेटिएका थिए ।
९ गते करिब तीन प्रतिशतले सङ्क्रमण दर बढेको छ । दश गते फेरि करिब ४ प्रतिशतले घटेको देखिएको छ । त्यसपछि निरन्तर चार दिन सङ्क्रमण दर बढेको छ ।
सङ्क्रमण दर साउन १० गते १६.११ प्रतिशत, साउन ११ गते १९.८० प्रतिशत, १२ गते २२.२५ र साउन १३ गते २४.२९ प्रतिशत पुगेको छ ।
साउन १४ गते करिब १ प्रतिशतले घटेर सङ्क्रमण दर २३.६२ प्रतिशत बढेको छ । साउन ८ गते १७ प्रतिशत रहेको सङ्क्रमण दर साउन १४ गते २३ प्रतिशत देखिँदा समग्रमा एक सातामा करिब ६ प्रतिशतले सङ्क्रमण बढेको देखिन्छ ।
पछिल्लो दुई हप्ताको औसत तथ्याङ्क हेर्दा पनि सङ्क्रमण दर बढेको छ । असार ३१ देखि साउन ६ सम्म ७ दिनको अवधिमा परीक्षण गरेका मध्ये १९.८६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।
सो अवधिमा ८९ हजार ५९ जनाको नमुना परीक्षण भएको थियो । जसमध्ये १७ हजार ६९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै साउन ७ देखि १३ गते सम्म उक्त सङ्क्रमण दर बढेर २०.२७ प्रतिशत पुगेको छ । विगत एक साता (७ देखि १३ गते) मा १ लाख ९ हजार ४७९ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये २२ हजार २०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।