arrow

सङ्क्रमण बढेसँगै सचेत रहन विज्ञहरूको चेतावनी, अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दै

तेस्रो लहर सुरु हुन सक्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
corona-dahasanskar.jpg

काठमाडौं ।सङ्क्रमण बढ्दै गए एकदेखि दुई हप्ताभित्रमा महामारीको तेस्रो लहर सुरु हुने चेतावनी विज्ञहरूले दिएका छन् ।निषेधाज्ञा खुकुलो भएसँगै देशभर कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । साउन १० गते १६ प्रतिशत रहेको सङ्क्रमण दर निरन्तर बढेर साउन तीन दिनमै बढेर २४ प्रतिशत पुगेको छ ।

यस अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या समेत निरन्तर बढ्दो छ । साउन १० गते २७ हजार २२८ रहेको सक्रिय सङ्क्रमित सङ्ख्या साउन १३ गते २९ जार ४४४ पुगेको छ ।

सङ्क्रमण दर साउन १० गते १६.११ प्रतिशत, साउन ११ गते १९.८० प्रतिशत, १२ गते २२.२५ र साउन १३ गते २४.२९ प्रतिशत पुगेको छ ।

साउन १० मा २७ हजार २२८ रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या, साउन ११ मा २७ हजार ९०७, साउन १२ मा २८ हजार ८३६ र साउन १३ मा २९ हजार ४४४ पुगेको छ ।

सातागत रूपमा पनि बढ्यो सङ्क्रमण

पछिल्लो दुई हप्ताको औसत तथ्याङ्क हेर्दा पनि सङ्क्रमण दर बढेको छ । असार ३१ देखि साउन ६ सम्म ७ दिनको अवधिमा परीक्षण गरेका मध्ये १९.८६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।

सो अवधिमा ८९ हजार ५९ जनाको नमुना परीक्षण भएको थियो । जसमध्ये १७ हजार ६९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै साउन ७ देखि १३ गते (हिजो)सम्म उक्त सङ्क्रमण दर बढेर २०.२७ प्रतिशत पुगेको छ । पछिल्लो एक साता ( ७ देखि १३ गते )मा १ लाख ९ हजार ४७९ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये २२ हजार २०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

'तेस्रो लहर सुरु हुन सक्छ'

यसरी नै सङ्क्रमण बढ्दै जाने हो भने, काेभिड१९ महामारीको तेस्रो लहर सुरु हुनसक्ने विज्ञहरूको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अबको एक दुई हप्ताको तथ्याङ्कले थप अवस्था कस्तो हुन्छ भनेर भन्न सकिने बताएका छन् ।

'निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरूले सुरक्षाका उपायहरूमा कम ध्यान दिँदा सङ्क्रमणले दोस्रो लहरकै अवस्थामा लैजान सक्ने' डा. बास्तोलाको भनाइ छ ।

'सङ्क्रमण बढ्यो, अस्पतालहरू भरिन थालिसके, एक दुई हप्ताको तथ्याङ्कले बाँकी अवस्थाको अनुमान गर्न सकिन्छ ' उनले भने ।

अहिले काठमाडाैं उपत्यकामा काेभिड१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । टेकु अस्पताल र पाटन अस्पतालमा सङ्क्रमित भरिई सकेका छन् । दैनिक फोन एवं बिरामी  भर्ना हुन आउनेको सङ्ख्या समेत बढेको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत अहिले १५० भन्दा बढी सङ्क्रमित भर्ना भइसकेका छन् ।

सशस्त्र प्रहरी अस्पतालका  डा. प्रवीण नेपालले दैनिक नयाँ भर्ना हुनेको सङ्ख्या समेत १० भन्दा बढी रहेको बताएका छन् । यसरी नै सङ्क्रमण बढ्दै जाँदा पुरानै अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढ्न थालेको र यो फेरि चुनौतीपूर्ण हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनले बताए ।

'नेपालमा डेल्टा भेरिअन्ट सक्रिय छ, अहिलेसम्म सङ्क्रमित नभएका र खोप नलगाएकाहरू बिशेषगरी सङ्क्रमित भइरहेका छन्, सङ्क्रमण बढ्न थालेको छ', उनले भने ।

'अब, यो बीचमा नयाँ भेरिअन्ट समेत देखा पर्‍यो भने झनै ठुलो चुनौती सिर्जना हुन्छ', डा. पुनले भने ।

डेल्टा भेरिअन्टको सङ्क्रमण नै पनि बढ्न थालेसँगै सङ्क्रमणले दोस्रो लहरकै दिशामा लैजान सक्ने चिन्ता विज्ञहरूको छ । आम नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूर्णरुपमा पालना गरेमा सङ्क्रमण कम हुने सक्ने उनीहरू बताउँछन् ।



नयाँ