- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि पार्टीविहीन भएका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले तत्काल नयाँ पार्टी नखोल्ने भएको छ।
शनिबार ठाकुर पक्षले आफू निकट कार्यकारिणी सदस्यहरूको बैठक बोलाएको थियो । सो बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई पार्टीबाट ननिकालेसम्म जसपामै रहेको निष्कर्ष निकालेको ठाकुर निकट एक नेताले बताए ।
तत्कालै नयाँ पार्टीको घोषणा नगरे पनि आन्तरिक रुपमा नयाँ पार्टीको अभ्यास सुरु गर्ने निर्णय गरिएको थियो । ठाकुर निकट स्रोतका अनुसार सकेसम्म पुरानो राष्ट्रिय जनता पार्टी नाम निर्वाचन आयोगबाट पाउनकोलागि पहल गर्ने, राजपा पाउन नसके लोकतान्त्रिक समाजवादी पार्टी नामक पार्टी खोल्ने तयारीमा ठाकुर निकट नेताहरु लागेका छन् । ठाकुर निकट एक नेताले पहिले नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न निबेदन दिएका छन् । त्यसैले यो नाम ठाकुर पक्षको कब्जामा रहेको छ ।
पार्टीका एक नेताका अनुसार ठाकुर पक्षले नयाँ पार्टीको घोषणा गर्ने वित्तिकै नयाँ पार्टीमा सम्बद्ध भएका व्यक्तिहरूलाई उपेन्द्र यादव पक्षले कारबाही गर्ने सम्भावना भएकोले तत्काल नयाँ पार्टी नखोल्ने निष्कर्षमा ठाकुर पक्ष पुगेको हो ।
यादवले कारबाही गर्ने वित्तिकै ठाकुर पक्षमा लागेका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको सार्वजनिक पद जाने जोखिम हुन्छ। शनिबार बोलाइएको बैठकमा ठाकुर निकट कार्यकारिणी सदस्य र प्रतिनिधि सभाका सांसदहरुलाई आमन्त्रित गरिएको थियो ।
निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिता दिने निर्णय गरे पछि महन्थ ठाकुर पक्षका सांसदहरु कित्ता फेर्दै यादव पक्षमा पुग्न थालेका छन् । अहिलेसम्म ठाकुर पक्षका ७ जना सांसदहरु राजकिशोर यादव, अमृता अग्रहरी, रुही नाथ, नरमाया ढकाल, प्रमोद साह, रेणुका गुरुङ र रानी मण्डलले कित्ता फेरिसकेका छन् ।