- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका भित्र रहेका सम्पूर्ण क्लबलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।
ईश्वरपुर नगरपालिका भित्रको १५ वटै वडाका विभिन्न क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । शनिबार भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा समाजसेवी मनोज आचार्यले नगरभित्रका क्लबहरुलाई फुटबल, भलिबल, एक/एक सेट जर्सी तथा स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका हुन् ।
खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा गत वैशाखमा अखिल नेपाल फुटबल संघले सातदोबाटोमा गरेको छनौटमा सर्लाहीबाट एन्फामा पर्न सफल सर्लाहीका खेलाडी शिव थिङ, दिपेश दुम्जन र डम्बर विकलाई ५/५ हजार नगद तथा प्रशिक्षक रोजित केसीलाई पनि नगद २५ हजार र सम्मान पत्रसहित सम्मान गरिएको छ ।
खेल सामग्री तथा आर्थिक अभावका कारण कसैले पनि खेलकुदबाट पलायन हुन नपरोस् भनेर खेल क्षेत्रमा योगदान पुर्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको समाजसेवी मनोज आचार्यले बताए ।
शनिबार भएको कार्यक्रममा ईश्वरपुर नगरपालिका-१२, गुईडुङमा गाँउ सडक सञ्जालको पहुँचबाट टाढा हुँदा स्वास्थ्य उपचारका लागि अस्पतालसम्म आउन समस्या भइरहेकाले बिरामी बोक्ने स्ट्रेचर चार थान समेत प्रदान गरिएको छ।
सोही कार्यक्रममा केही दिन पहिले हात्तिको आक्रमणबाट घरमा क्षति भएका ईश्वरपुर नगरपालिका-१४ श्रीनगरका चार परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । कार्यक्रममा बोल्दै समाजसेवी आचार्यले ईश्वरपुर नगरपालिका-४, सागरनाथका घरबारविहीन एक परिवारलाई घर बनाईदिने समेत घोषणा गरेका छन् ।
सन सागरनाथ युवा क्लब सागरनाथको आयोजनामा भएको कार्यक्रममा क्लबका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षता रहेको कार्यक्रममा पूर्व खेलाडि जित बहादुर राना, भुमि अधिकारकर्मी मदन विश्वकर्मा, शिक्षक महासंघका केन्द्रीय सदस्य उपेन्द्र कार्की तथा सञ्चारकर्मी प्रकाश मैनाली लगायतले समाजसेवी आचार्यले ईश्वरपुर नगरमा पुर्याएको योगदानको विषयमा आफ्नो मन्तव्य राखेका थिए ।
खेल सामग्री प्राप्त भएपछि खेल क्षेत्रको विकासमा थप योगदान पुग्ने कार्यक्रममा उपस्थित खेलाडीहरुले विश्वास गरेका छन् । समाजसेवी आचार्यले विगत दुई वर्षदेखि ईश्वरपुर नगर क्षेत्रमा विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।