arrow

ग्लोबल एनआरएन सिंगिङ आइडलः यी हुन् उत्कृष्ट २५ प्रतिस्पर्धी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
idol.JPG

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् ।‘ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका हुन् ।

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’मा २५ जना पुगेका हुन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । ५ जना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुगेका हुन् ।

२५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अस्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीता गोदार (अस्ट्रेलिया) रहेका छन् ।

त्यसै गरी, कपिल पाइजा पुन मगर (आयरल्यान्ड), सागर विश्व सेञ्चुरी (कुवेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित विष्ट (युएई), कृष्ण खवास (युएई), प्रतीक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।

ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन-२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् ।

डिजिटल अडिसनमा ६ वटा महादेशस्थित गैर आवासीय नेपाली सङ्घका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले गैर आवासीय नेपाली सङ्घको काठमाडौँस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको बताएका छन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अङ्क प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसै गरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

‘विदेशमा बसेर सङ्गीत साधना गर्नु आफैमा चुनौतीपूर्ण’
गैर आवासीय नेपाली सङ्घ एनआरएनए आइसिसीका पूर्व अध्यक्ष भवन भट्टले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारा सार्थक बनाउन पनि यस किसिमका कार्यक्रम प्रभावकारी हुने बताए ।पूर्व अध्यक्ष भट्टले सबै प्रतियोगीहरूलाई शुभकामना दिँदै ग्लोबल एनआरएन सिंगिङ आइडलले नेपाली सङ्गीतलाई देश बाहिरबाट पनि अघि बढाउन सकिने आधार प्रस्तुत भएको बताएका छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायक उदय सोताङले विदेशमा सङ्घर्ष गर्दै साङ्गीतिक जीवन अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको बताएका छन् । उत्कृष्ट २५ को छनौटपछि गायक सोताङले ग्लोबल एनआरएन सिंगिङ आइडलले विश्वभरिका नेपाली युवाहरूमा उत्साह थपेको बताएका छन् ।

‘हामी चार जना निर्णायकबिच निकै लामो छलफलपछि उत्कृष्ट २५ जना छनौट गरिएको हो, धेरै प्रतिभाशाली युवा गायक-गायिका नेपाल बाहिर हुनुहुन्छ भन्ने पुष्टि यो कार्यक्रमबाट भएको छ,’ सोताङले भने ।

यसै गरी, गैर आवासीय नेपाली सङ्घ एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली प्रतिभाहरूको खोजीका लागि नै यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

‘हाम्रो अपेक्षाअनुसार बृहत् कार्यक्रम गर्न कोरोना प्रकोपका लागि सम्भव भएन, तर अहिले छनौट भएका प्रतिभाहरूको प्रस्तुतिले हामीलाई आगामी दिनमा अझै परिष्कृत ढङ्गले कार्यक्रम अघि बढाउनुपर्छ भन्ने उत्साह दिएको छ,’ गुरुङले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ