arrow

पाँच महिनाअघि म्याद गुज्रिएको औषधि बिक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
medicin-date.JPG

सर्लाही । सर्लाहीको बागमतीमा रहेको एक अस्पतालले बिरामीलाई पाँच महिनाअघि नै म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ । बागमती नगरपालिका-१२, वीर गोर्खाली चौकमा रहेको बागमती मोडेल हस्पिटलले मोटरसाइकल दुर्घटनामा परेर उपचार गर्न पुगेका बिरामीलाई अङ्ग्रेजी महिना गत मार्चमै म्याद सकिएको औषधि बिक्री गरेको भेटिएको हो । 

हरिवन नगरपालिका-३, सासापुर घर भई हाल बागमती नगरपालिका-९, मा बस्ने मिलन लामालाई साउन २२ गते अस्पतालकै फार्मेसीबाट पाँच महिनाअघि म्याद सकिएको क्याल्सियम र भिटामिन डी-थ्रि ट्याब्लेट दिएको खुलेको हो ।

लामाका भिनाजु बुद्धिमान लामाले अस्पतालले लापरबाही ढङ्गले आफूहरूलाई म्याद गुज्रिएको औषधि दिएको बताएका छन् । अस्पतालमा दोहोर्‍याएर औषधि लिन जाँदा पनि पुनः म्याद गुज्रिएकै औषधि दिएर पठाएको उनले दाबी गरे ।

‘पहिलोचोटी लिँदा मार्चमै म्याद सकिएको औषधि दिएर पठाएको रहेछन्, पछि घरमा आएर खाने बेला थाहा भयो,’ बिरामीका भिनाजु लामाले भने, ‘फेरि दोहोर्‍याएर जाँदा त्यही म्याद गुज्रिएकै औषधि दिएर पठाइयो । यसबाट अस्पतालले जानाजान बिरामीको स्वास्थ्यमा खेलबाड गरेर चरम लापरबाही गरेको प्रस्ट हुन्छ ।’

अस्पतालले पनि बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री भएको स्वीकार गरेको छ । अस्पतालका सञ्चालक डा. उपेन्द्र महतोले फार्मेसीका कर्मचारीको गल्तीका कारण बिरामीलाई म्याद सकिएको औषधि बिक्री भएको स्वीकार गरेका हुन् ।

डा. महतोले बिरामीलाई जानाजान नभई भूलवस् म्याद गुज्रिएको औषधि बिक्री हुन पुगेको बताए । ‘म्याद गुज्रिएको औषधि बिक्री भएकै हो, यो कुरा म स्वीकार गर्छु,’ डा. महतोले भने, ‘यस विषयमा हामीले बिरामीसँग क्षमा समेत मागिसकेका छौँ, आगामी दिनमा यस्तो गल्ती हुँदैन ।’

डा. महतोले म्याद गुज्रिएको औषधि सेवन गर्दा बिरामीमा कुनै साइड इफेक्ट नदेखिएको र औषधि सेवनबाटै बिरामीलाई केहीकसो भए अस्पतालले जिम्मा लिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ