- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । केपी शर्मा ओलीले मनपरी नियुक्ति गरेको आरोप लगाउँदै आएका माओवादी केन्द्रका मन्त्रीहरू नै भाइ भतिजा र ज्वाईचेलाको नियुक्ति गर्न थालेका छन् । अर्थ मन्त्रालयको सचिवमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाइँलाई लगेका अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैङ्कको सल्लाहकारमा शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जीज्वाइँ भीमकान्त न्यौपानेलाई पठाउने निर्णय आउनासाथ गरेका छन् । मन्त्री शर्माले लोकलाजको समेत बेवास्ता गर्दै ज्वाइँ न्यौपानेलाई मासिक १८ लाख तलब सुविधा पाउन एडीबीमा पठाउने निर्णय गरेका छन् ।
ओली सरकार पदमुक्त हुने १५ दिनअघि उपसचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो । तर शर्मा मन्त्री हुनासाथ उक्त निर्णय बदर गरियो । र, मन्त्री शर्माका ज्वाइँ न्यौपानेलाई पठाउने निर्णय गरिएको छ ।
यसअघि मुख्यसचिव डा. सोमलाल सुवेदीदेखिसचिव सचिव रामशरण पुडासैनीले एडीबीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । आफ्ना भाञ्जीज्वाईंका लागि शर्माले देशको प्रतिष्ठा नै दाउमा लगाएको आरोप छ । मुख्यसचिव र सचिवले नेतृत्व गर्दै आएको एडीबीको सल्लाहकारमा यसअघिका मन्त्री बिष्णुप्रसाद पौडेलले उपसचिवलाई पठाउने निर्णय गरेका थिए । तर ओलीको सरकारलाई प्रतिगमनकारी र भ्रष्टाचारी भन्दै आएका माओवादी केन्द्रका मन्त्री शर्माले अर्थ मन्त्रालयका कनिष्ट शाखा अधिकृतलाई भान्जीज्वाइँ भएकै कारण मनिलास्थित एडीबीको सल्लाहकारमा पठाएर सुशासनकै धज्जी उडाएका छन् ।
विश्व बैङ्कको प्रतिनिधिमा सहसचिव श्रीकृष्ण नेपाललाई पठाइएको छ । सहसचिव नेपाल अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा लामो समय काम गरेका क्षमतावान् सहसचिव हुन् । विश्वबैंकमा जस्तै एसियाली विकास बैंक (एडीबी)मा मा पनि सही पात्र चयन गर्नुपर्ने थियो । तर यसअघिका अर्थ मन्त्री विष्णु पौडेलले आफ्नै निजी सचिव रमेश अर्याल(उपसचिव)लाई पठाउने निर्णय गरेका थिए । तर उनलाई पठाउने निर्णय गरेको १५ दिन नबित्दै अर्थमन्त्री शर्माले भान्जीज्वाइँ न्यौपानेलाई पठाउने निर्णय गरी आफन्तवादको नमुना पेस गरेका छन्।
एडीबीको उक्त पद २ वर्षका लागि हुन्छ । मासिक लगभग १८ लाख रुपैयाँ तलब हुने उक्त पद आकर्षक मानिन्छ । यसअघि डा.युवराज खतिवडा अर्थमन्त्री हुँदा सहसचिव रामशरण पुडासैनीलाई पठाइएको थियो । पुडासैनीभन्दा अघि सोमलाल सुवेदी थिए । २ वर्षपछि फेरि अहिले नेपालको पालो आएको छ । जसमा उपसचिव पठाउने निर्णय गरेको १५ दिनपछि नै शाखा अधिकृत न्यौपानेलाई पठाउने निर्णय गरिएको हो । शाखा अधिकृत न्यौपाने विभिन्न आकर्षक भन्सारमा बसी केही महिना अगाडि अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
न्यौपाने अर्थ मन्त्रालयका सचिव (हाल सरुवा) शिशिरकुमार ढुंगानाका पिएका रूपमा कार्यरत थिए । सचिव ढुङ्गानाले अर्थमन्त्री शर्मालाई खुसी पार्न उनका भान्जीज्वाइँलाई मनिला पठाउने वातावरण बनाएका थिए । न्यौपानेलाई नियुक्ति गर्ने सबै प्रक्रिया ढुङ्गानाले नै पूरा गरेको स्रोत बताउँछ । सबै तारतम्य मिलाएर उपसचिव पठाउने निर्णय रद्द गरी सचिव ढुङ्गानाले नै कनिष्ठ शाखा अधिकृत न्यौपानेलाई मनिलाका लागि चयन गराउन सफल भएका हुन् ।
वरिष्ठ कर्मचारीलाई पठाउने गरिएको एडीबीको सल्लाहकारमा कनिष्ठ शाखा अधिकृतलाई पठाउने निर्णयले नेपालले उक्त पदकै अवमूल्यन गरेको सन्देश गएको चर्चा अर्थमा हुने गरेको छ । -साँघु साप्ताहिकबाट