- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद झनै पेचिलो बन्दै गएको छ । पछिल्ले समय सदस्यता विवाद समाधान उन्मुख रहेको बताइए पनि विवाद झनै गन्जागोलतर्फ उन्मुख भएको हो ।
हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ । यस्तै धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन् ।
नयाँ सदस्यताका विषयमा विवाद हुँदा कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले यसअघि नै देशभरका १२१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यता सम्वन्धि प्रतिवेदन बुझाएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्यता विवाद समाधान उन्मुख हुने भन्दा झनै किचलोतर्फ अघि बढिरहेको बताए ।
‘विवाद समाधान गर्ने र महाधिवेशन तर्फ अघि बढ्ने भन्दा झनै विवाद बढाउनेतर्फ अवस्था अघि बढ्यो, यो पार्टीका हितमा छैन,’ वरिष्ठ नेता पौडेलले हाम्राकुरासँग भने । उनी निकट नेता रामकृष्ण यादवले वडाबाट पठाइएका सदस्यतामा एउटा नामावली र केन्द्रबाट पास भएको नामावली केही स्थानमा फरक देखिएको बताए । उनका अनुसार सदस्यता संख्या उही भए पनि नाम भने फरक पाइएको छ ।
‘केही जिल्लाबाट वडाहुँदै सिफारिस भएर आएका नाम एउटा छ, तर केन्द्रमा आइपुगेर नामावली पास हुँदा संख्या उही छ, तर नाम फेरिएको पाइएको छ, सदस्यताको सूची वडामा पुग्दा नाम विल्कुलै फरक देखिने अवस्था छ, यसले महाधिवेशनलाई सहज बनाउने भन्दा हुन नदिने वातावरणतर्फ उन्मुख गराउँदै छ,’नेता यादवले भने ।
क्रियाशील सदस्यताका विषयमा देखिएका बाँकी विवाद समाधानका लागि नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा। मिनेन्द्र रिजाललाई जिम्मा दिइएको थियो । तर आइतबार मध्यान्नसम्म पनि विवादित सदस्यताका विषयमा सहमति हुन सकेको छैन ।
सदस्यताको विषयमा समाधान खोज्न भन्दै शनिबार साँझ सिटौला, रिजाल र लेखकले सभापति देउवासहित वरिष्ठ नेता पौडेलसँग छलफल गरेका थिए । पौडेल समूहले भने विवादित स्थानका सदस्यतालाई १५औं महाधिवेशनमा अधिवेशनको प्रक्रियामा लैजाने गरी सहमती गर्न सकिने बताउँदै आइरहेको छ ।
तर सभापति देउवा निकट नेताहरुले भने सदस्यताको विवाद समाधनतर्फ अघि बढिरहेको दाबी गर्छन । नेता लेखकले विवाद समाधान नजिक रहेको भनेका हुन् । उनका अनुसार आजै(आइतबार) सदस्यताको विवाद टुंगाएर प्रतिवेदन प्रकाशित गरिँदैछ । तर कसरी विवाद मिल्दै छ भन्ने विषयमा भने केही खुलाइएको छैन ।