arrow

अनिश्चित काँग्रेस महाधिवेशन

काँग्रेस क्रियाशील सदस्यतामा अझै लफडा : सानेपामा मङ्गलवारबाट जिल्ला सभापतिहरूको धर्ना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ भदौ ७ सोमबार
congress-party-office-1.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले भोलि मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गर्दै छन्। महाधिवेशन समयमा नगरेको, तोकिएको समयमा पनि महाधिवेशन गर्ने वातावरण पार्टी नेतृत्वले नबनाएको, वडा तहबाट सिफारिस भएर आएका सदस्यतालाई हटाएर केन्द्रबाट मनोमानी ढङ्गबाट सदस्यता थप गरेको, पार्टी नेतृत्व नै विवादित सदस्यताका विषयमा समाधान खोज्न र विकल्पमा जान तयार नभएको, विधानमा भएको व्यवस्थालाई इन्कार गर्दै अघि बढेको लगायतका मागसहित काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूले मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गर्ने भएका हुन्। 

काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीले मुख्य तीन मागसहित आफूहरू नेतृत्व विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्न लागेको जानकारी दिए। ‘हाम्रा मुख्य तीन माग छन्, पटक पटक महाधिवेशन सारिएको छ, विधि विधानको पालना हुनु पर्छ, सदस्यता वडाबाट जिल्ला हुँदै सिफारिस भएर आएकालाई मान्यता दिनु पर्छ, केन्द्रबाट थपिएकालाई मान्न सकिँदैन, यस्तै जिल्ला सभापतिका लागि विधानले तोकेको मापदण्ड सबैलाई समान र एकरूपता हुनु पर्छ, यही मागसहित हामी धर्नामा बस्दै छौँ,’ काँग्रेस नुवाकोटका सभापति केसीले भने।

यसै गरी काभ्रे सभापति मधु आचार्यले पार्टी विधि विधान अनुसार चल्नु पर्ने, पार्टीले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्नु पर्ने लगायतका आफूहरूको माग रहेको बताए।

‘छानबिन समितिले देशभरबाट क्रियाशील सदस्यतामाथि ५ हजार बढी उजुरी आएको भन्यो, तर के कसरी छानबिन तथा सुनुवाइ भयो थाहा छैन, हामीले पनि हेर्न पाउनु पर्छ, यस्तै सदस्यताको सूची पनि तत्काल सार्वजनिक गर्नु पर्छ, काँग्रेस जस्तो मास बेस पार्टीले सदस्यता लुकाउनु पर्दैन, सार्वजनिक गरियोस्,’ काभ्रे सभापति आचार्यले भने।

काठमाडौँ काँग्रेस सभापति सबुज बानियाँले धर्ना कार्यक्रमबारे निर्णय गर्न अहिले १ बजे जिल्ला सभापतिहरूको छलफल राखिएको जानकारी दिए। जिल्ला सभापतिहरूको अनौपचारिक छलफलमा भने भोलि ११ बजेबाट धर्ना सुरु गर्ने सहमति बनिसकेको छ।

हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ। यस्तै धनुषा-४ सर्लाही-२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ। यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन्।

नयाँ सदस्यताका विषयमा विवाद हुँदा काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले यसअघि नै देशभरका १२१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यता सम्बन्धी प्रतिवेदन बुझाएको थियो।

हाल वडाबाट पठाइएका सदस्यतामा एउटा नामावली र केन्द्रबाट पास भएको नामावली केही स्थानमा फरक देखिएपछि विवाद झनै बढ्नेतर्फ अघि बढेको छ। यी सदस्यताका विषयमा वडाबाट आएको सदस्यता सङ्ख्या उही भए पनि नाम भने फरक पाइएको छ।

‘केही जिल्लाबाट वडा हुँदै सिफारिस भएर आएका नाम एउटा छ, तर केन्द्रमा आइपुगेर नामावली पास हुँदा सङ्ख्या उही छ, तर नाम फेरिएको पाइएको छ, सदस्यताको सूची वडामा पुग्दा नाम विल्कुलै फरक देखिने अवस्था छ, यसले महाधिवेशनलाई सहज बनाउने भन्दा हुन नदिने वातावरणतर्फ उन्मुख गराउँदै छ,’ एक नेताले भने।

क्रियाशील सदस्यताका विषयमा देखिएका बाँकी विवाद समाधानका लागि नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाललाई जिम्मा दिइएको थियो। तर सोमबार मध्यान्नसम्म पनि विवादित सदस्यताका विषयमा सहमति जुट्न सकेको छैन।

सभापति निकट नेताहरू भने आजै सदस्यताको विवाद टुङ्गाएर प्रतिवेदन प्रकाशित गरिने बताउँछन्। तर कसरी विवाद मिल्दै छ भन्ने विषयमा भने केही खुलाइएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ