प्रधानमन्त्री देउवालाई भेटेर खुसी हुँदै फर्किए ठाकुर–महतो
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
1k
Shares
काठमाडौं। निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताकोलागि निवेदन दिएका महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण लगायतका नेताहरूले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए पछि ठाकुर, महतो पक्षले निर्वाचन आयोगमा लोसपा दर्ताकोलागि निवेदन दिएको छ । अध्यादेश नल्याएको भए ठाकुर, महतो लगायतका नेताहरू अहिले पनि जनता समाजवादी पार्टीमै अपमान सहेर बसेका हुन्थे । किनभने पार्टी फुटाउनकोलागि संसदीय दल र कार्यकारिणी समितिमा ४० प्रतिशत उनीहरूसँग पुग्दैनथ्यो । त्यसैले ठाकुर, महतो लगायतका नेताहरू अध्यादेश ल्याएकोमा प्रधानमन्त्रीसँग खुसी देखिएका छन् । उनीहरू सरकारमा जान समेत इच्छुक देखिएका छन् ।
आफ्ना माग सम्बोधन गराउन ध्यानाकर्षण गराउन आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी नेता शरत्सिंह भण्डारीले बताए । रेशम चौधरीलाई रिहाइ गर्न आफूहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको उनले बताए । टिकापुर घटनाको संस्मरणमा आफूहरू प्रधानमन्त्रीलाई भेट्न गएको उनको भनाइ छ । सरकारले माग मुद्दा सम्बोधन गरेमा आफूहरूले सरकारसँग सहकार्य गर्न तयार रहेको लोसपाका नेताहरूले जनाएका छन् ।
संसद्मा देउवालाई लोसपाले विश्वासको मत दिएको थियो। केपी ओली नेतृत्व सरकार ढल्ने बेला ठाकुर, महतो पक्ष सरकारमा गएको थियो । तर ठाकुर–महतो पक्षका नेताहरू सरकारमा गएको १९ दिन र १३ दिन पछि नै सर्वोच्चको निर्णयबाट बाहिरिएका थिए ।