- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका माधव नेपाल र महन्थ ठाकुर पक्षमा रहेका नेताहरूलाई भोलि बुधवार सनाखतका लागि बोलाएको छ ।
आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्था अनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई आयोगमा बोलाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरूलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।
उनका अनुसार प्रस्तावित दलका नेता र सांसदहरूलाई हस्ताक्षर गर्न ११ बजेदेखि २ बजेसम्मको समय आयोगले तोकेको छ ।
माधव नेपाल समूहले एमालेबाट अलग हुने निर्णय गर्दै एकीकृत नेकपा समाजवादी पार्टी दर्ता गर्नका लागि निवेदन दिएको थियो । यस्तै महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नाम प्रस्ताव गर्दै दर्ताका लागि निवेदन दिएको थियो ।
नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । उनले दल अलग गर्न नयाँ अध्यादेश अनुसार एमालेको केन्द्रीय कमिटीको कूल २०३ सङ्ख्या मध्येको २० प्रतिशत अर्थात् ४१ जना पुर्याउनु पर्ने हुन्छ । यस्तै नयाँ थप सहित नेपालले नेतृत्व गर्ने दलमा ११५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ । ठाकुर अध्यक्ष रहने गरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको संशोधन अनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ ।