- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएसँगै मा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका महन्थ ठाकुर––राजेन्द्र महतो पक्षलाई वर्तमान सरकारमा जान बाटो खुला भएको छ। बिहीबार मात्र ठाकुर–महतो पक्षले लोसपाको पक्षमा निर्वाचन आयोगमा १४ जना सांसद तथा १६ जना कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गराएको थियो ।
यो भनेको संसदीय दलमा करिब ३८ प्रतिशत तथा कार्यकारिणी समितिमा झण्डै ३३ प्रतिशत हो । रेशम चौधरीको हस्ताक्षरलाई आयोगले मान्यता दिएन ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल या कन्द्रीय समितिमा २० प्रतिशत भए पुग्छ ।
उनीहरूसँग २० प्रतिशत भन्दा केही बढी संख्या देखियो । योसँगै नयाँ दलको मान्यता ठाकुर–महतो पक्षलाई मिलेको छ । पार्टीको दर्ता नम्बर १६७ रहेको छ । योसँगै ठाकुर–महतो पक्षलाई पार्टीगत रूपमै सरकारमा जान बाटो खुला भएको छ ।
ठाकुर–महतो पक्षका नेताहरूले केही दिन अघि मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । सरकारले अध्योदश ल्याएकोमा उनीहरू देउवासँग खुशी छन् । अब सरकारमा जाने सम्भावना रहेको लोसपाका नेताहरूले जनाएका छन् ।
लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले माग मुद्दाको आधारमा आफूहरू सरकारमा जाने सम्भावना रहेको बताए । ‘सरकारले ल्याएको न्युनतम साझा कार्यक्रममा पनि हाम्रा माग मुद्दालाई सम्बोधन गरिएको छ’झाले भने, ‘त्यसैले हामी सरकारमा जाने सम्भावना कायम छ ।’
केपी शर्मा ओली नेतृत्वको सरकारमा ठाकुर–महतो पक्षका १० जना सांसद १९ दिन र एक जना सांसद १३ दिन सरकारमा सहभागी भएका थिए । ठाकुर–महतो पक्ष ओली सरकारमा सहभागी भए पछि जसपा विभाजनको प्रक्रिया शुरु भएको थियो ।