arrow

प्रदेश एकमा भीम आचार्य बने मुख्यमन्त्री

logo
विवेक मिश्र,
प्रकाशित २०७८ भदौ १० बिहिबार
bhim-prasad-acharya.JPG

मोरङ । नेकपा एमालेको विभाजनले औपचारिकता पाएसँगै प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यलाई माधवकुमार नेपालको पक्षमा खुलेका ८ जना सांसदले साथ दिएका छन् ।

यसअघि नेपाल समूहमा आचार्यसहित १८ जना सांसद रहेकामा आचार्यलाई दलको नेता बनाउन बिहीबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ८ सांसद सहभागी भएका हुन् ।

मुख्यमन्त्री शेरधन राईले दलको नेताबाट राजीनामा दिएपछि दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको थियो । लगत्तै मुख्यमन्त्री राईले राजीनामा दिएपछि आचार्यले मुख्यमन्त्रीको शपथ लिइसकेका छन् ।

आचार्यलाई दलको नेता चयन गर्न आयोजित बैठकमा भौतिक रूपमा २४ जनाको उपस्थिति थियो । प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माईन्युटमा केही सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए ।

बैठकमा सहभागी नभए पनि राजकुमार ओझा र ज्ञानेश्वर राजवंशी निर्णयमा पछि हस्ताक्षर गरेका थिए । यसअघि ओली समूहमा ३२ जना रहेकोमा संसदीय दलको बैठकमा १८ जना मात्र उपस्थित रहेका थिए ।

आचार्य मुख्यमन्त्री बन्दै गर्दा यसअघि प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै पुस ५ पछि सामाजिक विकास मन्त्रीबाट राजीनामा दिएर आन्दोलनमा होमिएका जीवन घिमिरेले पनि साथ दिएका छन् । घिमिरे आचार्य नेतृत्वको सरकारमा मन्त्री बन्ने स्रोतले जनाएको छ ।

यसै गरी यसअघि नेपाल समूहमा रहेका मोरङका सांसदहरू लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, सुनसरीकी सावित्री जोशी, तेह्रथुमका लक्षुमन तिवारी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा पनि एमालेमा फर्किएका छन् । उनीहरू संसदीय दलको बैठकमा सहभागी भएका छन् । मोरङका लिलाबल्लभ अधिकारी र तेह्रथुमका लक्षुमन तिवारी पनि नयाँ सरकारमा मन्त्री बन्ने बताइएको छ ।

नेपाल समूहमा रहेका सांसदहरूमध्ये भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, पाँचथरका गणेश काम्बाङ र मोरङकी कृष्णकुमारी राई नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनिसकेका छन् । यस्तै मोरङकै उपेन्द्र घिमिरे र सावित्री रेग्मी, उदयपुरकी सुनिता चौधरी, इलामकी खिनु लङ्वा लिम्बू, सङ्खुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ पनि एकीकृत समाजवादीमा रहने दाबी सो पार्टीको छ । उनीहरू बिहीबारको एमाले बैठकमा सहभागी भएनन् ।
प्रदेशसभाका ५ सांसद मात्र नयाँ पार्टीमा प्रदेश गरेको अवस्थामा आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने अवस्था छ । प्रदेशसभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले कायम रहेका ९२ जनामध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।

नेकपा एकीकृत समाजवादीमा ५ सांसद प्रदेश गरेका अहिलेको सरकार ढल्नेछ भने ७ जना सांसद प्रवेश गरेका विपक्षी गठबन्धनको सरकार बन्नेछ । दल विभाजन सम्बन्धी अध्यादेश अनुसार २१ दिनभित्र प्रदेशसभाका सदस्यले नयाँ पार्टी रोज्न पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ