arrow

अफगानिस्तानमा नेपाली सुरक्षित, सबैलाई एकै ठाउँमा राखेका छौँ- परराष्ट्र मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
foreign-ministry.jpeg

काठमाडौं। अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको थियो ।

सो आक्रमणमा परि ८० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस्तोमा त्यहाँ स्थित सबै नेपालीहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

यस्तै भारतका लागि नेपाली राजदूत एवं अफगानिस्तानको जिम्मेवारी समेत रहेका राजदूत निलाम्बर आचार्यले पनि अफगानिस्तानमा सबै नेपाली सुरक्षित रहेको बताएका छन् ।

अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेको र उनीहरूलाई जति सक्दो चाँडो उद्धार गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै अफगानिस्तानको विभिन्न क्षेत्रमा छरिएर रहेका नेपालीहरूलाई अहिले एक ठाउँमा राख्न सफल भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

'अफगानिस्तानमा रहेका सम्पर्कमा आएका सबै नेपालीहरूलाई एक ठाउँमा राख्न सफल भएका छौँ,' परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

'अहिले नै एयरपोर्ट जाने अवस्था नरहेका कारण उनीहरूलाई समय अनुकूल हुने बित्तिकै त्यहाँबाट जहाँ मिल्छ, त्यसै देश ट्रान्जिट पार्ने गरी उद्धार गर्ने तयारीमा छौँ', उनले भनिन् ।

नेपाल आफैले अहिले अफगानिस्तानबाट उद्धार गर्न सक्ने अवस्था नरहेका कारण तेस्रो देशसँग भनेर उद्धारका लागि कुर्नु पर्ने अवस्था रहेको छ । हालसम्म अफगानिस्तानबाट ७ सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।

अफगानिस्तानमा अहिले कति नेपाली रहेका छन्, भन्ने जानकारी स्पष्ट नभएका कारण ठ्याक्कै जानकारी दिन सक्ने अवस्था नरहेको परराष्ट्रले जनाएको छ ।

यद्यपि, २ हजारको हाराहारीमा नेपालीहरू अफगानिस्तानमा हुनसक्ने अनुमान छ । यसमध्ये केही आफै सुरक्षित स्थानतर्फ फर्किरहेका छन् भने,  बाँकीको उद्धार गर्न सरकारले पहल गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ