arrow

कम्बोडियामा लुकिछिपी बसेका नेपालीलाई जेठ २९ भित्र स्वदेश फर्कन दूतावासको ताकेता

अटेर गरे आजीवन काराबाससम्मको सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
foreign-ministry-parrastra-mofa.jpg
तस्बिर फाइल

काठमाडौँ । थाइल्यान्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्दै आएका नेपाली नागरिकहरूलाई आगामी १२ जुन (यही जेठ २९ गते) भित्र अनिवार्य रूपमा नेपाल फर्किन निर्देशन जारी गरेको छ। दूतावासले आज एक विशेष सूचना प्रकाशित गरी कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कडा सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराएको हो।

विभिन्न उद्देश्य र बहानामा कम्बोडिया पुगेर भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी अवैध रूपमा बसिरहेका ६०२ जना नेपाली नागरिकका लागि दूतावासले विशेष पहल गरेको थियो। कम्बोडिया सरकारसँग समन्वय गरी उनीहरूको भिसा शुल्क तथा जरिवाना रकम पूर्ण रूपमा मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको भए पनि इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा हालसम्म ती नेपालीहरूले स्वदेश फर्किन कुनै तदारुकता नदेखाएको दूतावासले जनाएको छ।

कम्बोडिया सरकारले ल्याएको नयाँ कडा कानुनअनुसार तोकिएको समयभित्र आफ्नो मुलुक नफर्कने विदेशी नागरिकउपर कडा अनुसन्धान गरिनेछ। कसुरको प्रकृति हेरी त्यहाँको अदालतले पाँच लाख अमेरिकी डलरसम्मको भारी जरिवाना तोक्न सक्ने र कतिपय अवस्थामा आजीवन काराबाससम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था गरिएको दूतावासको सूचनामा उल्लेख छ।

यस्तो गम्भीर परिस्थिति सिर्जना हुन सक्ने भएकाले कम्बोडियामा रहेका सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’ सहितको हवाई टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन दूतावासले अन्तिम आह्वान गरेको छ। साथै, नेपालमा रहेका उनीहरूका परिवारजन तथा आफन्तजनलाई समेत यसै सूचनालाई मुख्य आधार मानी कम्बोडियामा रहेका आफ्ना प्रियजनलाई तत्काल नेपाल फर्काउने आवश्यक व्यवस्था मिलाउन दूतावासले विशेष अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ