arrow

नेकपा एकीकृत समाजवादीको हाइ कमान्ड गठन, मन्त्री बनाउनेको नाम अनिर्णीत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
madhav-nepal-ncp-united-socialist.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा जाने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका ताकेता गरिरहेको बेला सो पार्टीले सरकारमा जाने निर्णय गरेको हो । सरकारमा सो पार्टीलाई ६ देखि ७ मन्त्रालय दिने तयारी भएको छ।

सरकारमा नेपाली काँग्रेसपछि दोस्रो प्राथमिकताका साथ सहभागी गराइने बताइए पनि मन्त्रालय भने अझै तय भएको छैन । सो पार्टीलाई सञ्चार मन्त्रालय दिएर सन्तुलन मिलाउने तयारी भएको छ । माधव नेपाल नेतृत्वको पार्टीले सञ्चार मन्त्रालय पाए त्यसमा विरोध खतिवडालाई पठाउने तयारी रहेको स्रोतको दाबी छ । तर सञ्चारमा काँग्रेस आफैले पनि दाबी गरिरहेको छ ।

सो पार्टीको आज बसेको बैठकले राष्ट्रिय परिषदबाट पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमान्ड गठन गरेको छ । साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई समेटेर हाइ कमान्ड बनाइएको हो । 

हाइ कमान्डमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् । हमालबाहेक अरू एमालेको स्थायी कमिटीमा थिए । सरकारमा जाने मन्त्रीको नाम भने यही हाइकमाण्डले चयन गर्ने मुकुन्द न्यौपानेले बताए । उनका अनुसार सरकार विस्तारको तयारी भइरहेकाले एकाध दिनमै सरकारमा सहभागी हुने निर्णय भएको हो ।

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्युरो र स्थायी कमिटी चयन गर्नेछ । मन्त्रालय बाँडफाँट टुङ्गिएपछि सरकारमा जाने मन्त्रीहरूको नाम तय हुने न्यौपानेले बताए । सरकार गठन भएको ४२ दिन बितिसक्दा पनि प्रधानमन्त्री देउवाले माओवादीका दुई र नेपाली काँग्रेसका तीन मन्त्री नियुक्त गरेर सरकार चलाइरहेका छन् । 

एमाले विभाजन नभएको र एमालेको विद्रोही पङ्क्तिलाई सरकारमा सहभागी  गराउनु पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । भदौ ९ गते एमाले विभाजन भएर नयाँ दल दर्ता भएपछि नवगठित दल पनि सरकारमा सहभागी हुन सहज भएको छ । माधव नेपाल नेतृत्वको दल सरकारमा सहभागी भएपछि संसद् पूरा कार्यकाल चल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ