arrow

श्रीलङ्कन एयरको काठमाडौँ सीधा उडान सुरु

logo
रासस,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
plane-air.jpeg

काठमाडौँ । श्रीलङ्कन एयरलाइन्सले मंगलवारदेखि काठमाडौँ-श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०:२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् । 

कोलम्बो-काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलङ्कन एयरको जहाज बिहान ११:१० बजे पुन: कोलम्बो उडेको छ । सातामा दुई दिन मङगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ-कोलम्बो सीधा उडान करिब साँढे तीन घण्टाको हुन्छ ।
      
एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । श्रीलङ्कन एयरले  यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

 भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्नेछ ।  हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुवई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ