arrow

काठमाडौंमा चार महिना लामो निषेधाज्ञा हट्योः विद्यालय खोल्न पाइने, सभा जुलुस गर्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
CDO-Office-KTM.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा गत १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले चार महिना यता जारी गरिंदै आइएको निषेधाज्ञा हटाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निणर्य गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउँने गरी धेरै क्षेत्र खुला गर्दै निषेध आदेश हटाएका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्राकुरासँग भने ।

उनका अनुसार स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्यालयसमेत संचालन गर्न पाउने छन् । यस्तै सिनेमा हलहरुसमेत स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न पाइने छ भने मन्दीर तथा धार्मिक क्षेत्रहरुसमेत खुला हुनेछन् ।

तर भीडभाडजन्य गतिविधिहरु गर्न भने पाइने छैन । यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदी गर्न पाइने छैन । यसैगरी चाडपर्वहरु न्यूनतम सहभागीतामा भीडभाड नहुने गरी संचालन गर्न पाइने छ ।

यस्तै स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सवारी साधन संचालन गर्न पाइने छैन । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सवारी साधन संचालन गर्न पाइने छ ।

जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचना अनुसार यो नियम १७ भदौ देखि भदौमसान्तसम्म लागू हुनेछ । संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ