arrow

कांग्रेस महाधिवेशनले कोरोना जोखिम बढाउने खतरा, मापदण्ड उलंघन गर्दै सभा-सम्मेलन जारी

हातमा सेनिटाइजर र मुखमा माक्स अनिवार्य भनेका छौं, विधान शंसोधन गरेर नयाँ व्यवस्था गरेका छौं : मुख्यसचिब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
Congress-convention-14-nepa.jpg

काठमाडौं । यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनको रौनक यतिबेला गाउँ गाउँमा छ । गाउँ बाहिर रहेका नेता कार्यकर्ताहरु गाउँ पुग्न थालेका छन् । भदौ १८ गतेबाट शुरु हुने वडा अधिवेशनको पूर्वसन्ध्यामा गाउँमा भेटघाट र भेलाहरु भइरहेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसकोे महामारी नेपालको गाउँसम्मै र समूदायस्तरमै फैलिरहेको बेला भीडभाड गरी अधिवेशनहरु शुरु गर्दा जोखिम बढ्ने खतरा देखिएको छ । गाउँ तथा जिल्लाका बजारहरुमा मानिसहरुको भीड बढ्ने, सभा सम्मेलनहरु भइरहने र बाहिरबाट कार्यकर्ता जानेक्रम शुरु भएकाले संक्रमण बढ्ने देखिएको छ ।

तर कांग्रेसले स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेकाले जोखिम कम हुने दाबी गरेको छ । कांग्रेस पार्टीका कार्यालयका मुख्यसचिब कृष्ण प्रसाद पौडेलका अनुसार संवैधानिक वाध्यता र पार्टीलाई नै सुदृढ तथा चलायमान बनाउन अधिवेशन अत्यन्तै आवश्यक भएकाले कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहेर अधिवेशन सम्पन्न गर्न भनिएको छ ।

उनले भने,‘सामाजिक दूरी कायम गर्ने साथै हातमा सेनिटाइजर र मुखमा माक्स अनिवार्य गर्नु भनेर प्रत्येक जिल्लालाई निर्देशन गरिसकेका छौं । विधान शंसोधन गरेरै भए पनि भीड कम गराउन भदौ २७ गते नगर र पालिकाहरुको अधिवेशन क्षेत्रीय प्रतिनिधि नै मतदाता हुनेगरी व्यवस्था गरिएको छ ।’

यद्यपि, सरकारको नेतृत्व गरिरहेको पार्टीको अधिवेशन कोरोना संक्रमणका बेला गरिनुले प्रश्न खडा भएको छ । गाउँ नगरदेखि केन्द्रीय महाधिवेशनमा हुने भिडभाडका कारण फैलन सक्ने सङ्क्रमण नियन्त्रणका लागि केन्द्रीय समितिले कुनै सम्बोधन नगरेको र कुनै निर्देशिका वा मापदण्ड नबनाएकोप्रति कार्यकर्ताहरुले नै प्रश्न उठाएका छन् ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा स्वास्थ्य मापदण्ड वा निर्देशिका बनाउने सवालमा केन्द्रीय समिति बैठकमा छलफल हुनु आवश्यक नभएको बताउँछन्। उनी भन्छन्, ‘महाधिवेशनमा कोरोना भाइरसबाट सुरक्षित रहने वा सतर्कता अपनाउने विषयमा पार्टी केही दिनभित्रै बेग्लै मापदण्ड वा निर्देशिका बनाएर काम गर्नेछ’, उनले भने, ‘कोरोना सङ्क्रमणबाट कार्यकर्ता वा आम नागरिकको जीवन रक्षाका सवालमा काँग्रेस गम्भीर छ। यसका लागि महाधिवेशन लक्षित योजना बनाएर अघि बढ्नुपर्ने बाध्यता छ।’

शर्माले अधिवेशनमा हुने भीडभाडका बेला मास्क अनिवार्य लगाउन र दूरी कायम गर्न आग्रह गरे । खोप अभियान जारी रहेको र धेरै कार्यकर्ताले खोप लगाइसकेकाले सचेत भएरै अधिवेशन सम्पन्न गर्न सबैलाई आग्रह गरे । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्नेमा सबै कार्यकर्ता सचेत हरेको बताउँछन् ।

हुन त केन्द्रीय कार्यसमितिको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चुन्ने व्यवस्थामा संशोधन गरेर भीड कम गराउने उपाय अवलम्बन गराउन विधान संशोधन गराइए पनि त्यो पर्याप्त नहुने देखिएको छ ।

यसअघिका अधिवेशनमा सबै क्रियाशील सदस्यले चुन्ने व्यवस्था संशोधन गरेर वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मात्र पालिका र नगर अधिवेशनमा मतदान गर्ने पाउने निर्णय गरेर भिडभाड कम गर्ने प्रयास गरे पनि सङ्क्रमण रोक्न त्यो पर्याप्त नहुने देखिएको हो।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि कागजमा बलियो र अब्बल मापदण्ड ल्याए पनि उक्त मापदण्ड सरकारी निकायबाटै उल्लङ्घन भइरहेको अवस्थामा सत्ता सञ्चालनको नेतृत्व गरिरहेको कांग्रेसले आफ्नै महाधिवेशनमा स्वास्थ्य मापदण्डलाई कुन रूपले पालन गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ।

स्वास्थ्य मापदण्ड आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने उल्लेख गरे पनि काँग्रेसले त्यस ऐनलाई कार्यान्वयन कसरी गर्छ भन्ने प्रश्न उठेको छ। नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको क्रम रोकिएको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ