arrow

काठमाडौंमा पाँच दशकयताको तेस्रो ठुलो वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं। गए राति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी पर्‍यो जुन पाँच दशक यताको तेस्रो ठुलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा गए राति २४ घण्टामा १२१.५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठुलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठुलो वर्षा हो ।

सन् १९६८ देखि २०२१ सम्मको तथ्याङ्क केलाउँदा २००२ को जुलाई २३ मा सबैभन्दा बढी २४ घण्टामा १७७ मिमी वर्षा भएको देखिन्छ । त्यसपछिको ठुलो वर्षा सन् १९८७ मा १२४ मिमी वर्षा भएको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिए । 

उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी जमिनले सोस्ने जमिन कम भएका कारण बढी डुबान देखिएको उनको भनाइ छ । गए रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायत क्षेत्र डुबानमा परेको नेपाल प्रहरीले जनाएको छ।

यस्तै अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका थिए । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा मुख्यगरी वाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमती, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । यी सबै नदी तथा खोलामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विसं २०६६ देखि अतिक्रमण रोक्न नदीका दुवै किनारामा तटबन्ध निर्माण गरिरहेको छ । 

साथै नदीको पानी शुद्धताका लागि दुवै किनारमा ढलको पाइप निर्माणसमेत भइरहेको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ