arrow

रुपन्देही नेतृत्वका लागि आठ कांग्रेसी आकांक्षी, बालकृष्ण खाणका भाइ र पाठक मुख्य दावेदार  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
rupendehi-congress.jpg

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रुपन्देही जिल्लाको नेतृत्वका लागि निकै नै टक्कर देखिने भएको छ । अहिलेसम्म आठ जना नेतृत्वका लागि आकांक्षी देखिएका छन् । यो जिल्लालाई कांग्रेस सभापति शेरबहादुर देउवाको गढका रुपमा चिनिन्छ । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला भएकाले पनि उनको पकड यहाँ राम्रोसँग झल्किन्छ । 

हालका जिल्ला सभापति अब्दुल रज्जाक दुई कार्यकाल सभापति भइसकेका छन् । उनी देउवा पक्षका हुन् । रज्जाक फेरि इच्छित छन् । उनको यसपटक बालकृष्ण खाणका भाइ रामकृष्णसँग टक्कर पर्ने देखिएको छ । 

रामकृष्णले दुई कार्यकाल जिल्ला सचिव भएर काम गरिसकेका छन् । सोही खेमाबाट युवराज गिरी, फणिन्द्र शर्मा पनि जिल्ला सभापतिका आकांक्षी छन् । गिरी अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले सांसद एवं निवर्तमान गृहमन्त्री विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका थिए । शर्मा जिल्ला उपाध्यक्ष हुन् ।

रुपन्देहीमा रामचन्द्र पौडेल खेमाबाट हरि लम्साल, थानेश्वर घिमिरे, रामचन्द्र ढकाल, अष्टभुजा पाठक र मातृका यादव पनि दावेदारका रुपमा देखिएका छन् । ढकालले यसअघि नै जिल्लाको नेतृत्व सम्हालिसकेका छन् भने पाठक लुम्बिनी प्रदेशसभा सदस्य पनि हुन् ।

प्रदेशसभा सदस्य भएकाले पनि पाठकको पकड यसपालि बढी नै भएको पनि बताइन्छ । कांग्रेसभित्र देउवा, पौडेल र कृष्णप्रसाद सिटौला पक्ष मौलाएको भए पनि रुपन्देहीमा देउवा र पौडेल पक्षबीच भिडन्त हुने देखिन्छ । 

अन्तिममा गएर बालकृष्णका भाइ रामकृष्ण र पाठकबीच नेतृत्व हुन सक्ने सम्भावना रहेको रुपन्देहीमा कांग्रेसलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन् । 



नयाँ